
रामेछाप- रामेछापका ८ स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका मध्ये मन्थली नगरपालिका प्रथम भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार रामेछाप नगरपालिका दोस्रो, सुनापति गाउँपालिका तेस्रो, उमाकुण्ड गाउँपालिका चौथो, लिखुतामाकोशी गाउँपालिका पाँचौँ, गोकुलगंगा गाउँपालिका छैटौँ, दोरम्बाशैलुङ्ग गाउँपालिका सातौँ र खाँडादेवी गाउँपालिका आठौँ अर्थात् अन्तिम नम्बरमा रहेको छ ।




प्रारम्भिक नतिजा अनुसार मन्थली नगरपालिकाले ७०.७, रामेछाप नगरपालिकाले ६९.९, सुनापति गाउँपालिकाले ६४.७, उमाकुण्ड गाउँपालिकाले ६२, लिखुतामाकोशी गाउँपालिकाले ५८.१, गोकुलगंगा गाउँपालिकाले ५७.३, दोरम्बाशैलुङ्ग गाउँपालिकाले ५४.२ र खाँडादेवी गाउँपालिकाले ४१.१ अंक प्राप्त गरेका छन् ।
उल्लेखित कार्यसम्पादन मूल्याङ्कन गएको आर्थिक वर्ष २०८०/०८१ को भएको प्राकृतिक स्रोत तथा वित्त आयोगका सूचना अधिकारी राजेश्वरी खत्री सापकोटाले बताइन । हाम्रो प्रहार डटकमसँग कुरा गर्दै सुचना अधिकारी सापकोटाले भनिन् – ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अंक प्रदान गरिएको हो । यदि उक्त अंकमा चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसूची ५ को ढाँचामा आयोग पठान सक्नु हुनेछ । त्यसलाई हामीले पुनः हेर्छौ ।’



आफ्नो प्रतिकृया दिनुहोस्