
रामेछाप– रामेछापका ८ स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको रामेछाप उमाकुण्ड गाउँपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका मध्ये उमाकुण्ड गाउँपालिका प्रथम भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार गोकुलगंगा गाउँपालिका दोस्रो, रामेछाप नगरपालिका तेस्रो, मन्थली नगरपालिका चौथो, खाँडादेवी गाउँपालिका पाँचौँ, दोरम्बाशैलुङ्ग गाउँपालिका छैटौँ, सुनापति गाउँपालिका सातौँ र लिखुतामाकोशी गाउँपालिका आठौँ अर्थात् अन्तिम नम्बरमा रहेका छन् ।




प्रारम्भिक नतिजा अनुसार उमाकुण्ड गाउँपालिकाले ४६.६८, गोकुलगंगा गाउँपालिकाले ४१.६९, रामेछाप नगरपालिकाले ४०.१७, मन्थली नगरपालिकाले ३३.६५, खाँडादेवी गाउँपालिकाले ३०.८७, दोरम्बाशैलुङ्गले २९.१२, सुनापति गाउँपालिकाले २३.८९ र लिखुतामाकोशी गाउँपालिकाले १७.३३ अंक प्राप्त गरेका छन् । तर, आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने आर्थिक वर्ष २०७९/०८० मा रामेछापका सबै स्थानीय तहको प्रारम्भिक नतिजा कमजोर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार जिल्लाका ८ स्थानीय तहको नतिजा कमजोर देखिएको हो । आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकमा आधारित भएर मूल्याङ्कन गर्दा रामेछापका सबै स्थानीय तहले गएको वर्षको नतिजा भन्दा कम अंक प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा उमाकुण्ड गाउँपालिकाले ५२.७० अंक प्राप्त गरेको थियो, त्यस्तै गोकुलगंगा गाउँपालिकाले ६५ दशमलव ३९, रामेछाप नगरपालिकाले ६७ दशमलव ४२, मन्थली नगरपालिकाले ६८ दशमलव ०७, खाँडादेवी गाउँपालिकाले ४६ दशमलव ७९, दोरम्बा शैलुङ्ग गाउँपालिकाले ५३ दशमलव १३, सुनापति गाउँपालिकाले ६१ दशमलव २१ र लिखुतामाकोशी गाउँपालिकाले ३८ दशमलव ३१ अंका प्राप्त गरेका थिए ।
उल्लेखित कार्यसम्पादन मूल्याङ्कन गएको आर्थिक वर्ष २०७९/०८० को भएको प्राकृतिक स्रोत तथा वित्त आयोगका सूचना अधिकारी नारायण प्रसाद अधिकारीले बताए । हाम्रो प्रहार डटकमसँग कुरा गर्दै अधिकारीले भने– ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अंक प्रदान गरिएको हो । यदि उक्त अंकमा चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसूची ५ को ढाँचामा आयोग पठान सक्नु हुनेछ । त्यसलाई हामीले पुनः हेर्छौ ।’



आफ्नो प्रतिकृया दिनुहोस्