रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले जनताको काम गर्ने अवसर मिलेकाले जनताको मन जित्ने गरी काम गर्न सके नेकपा माओवादी केन्द्र २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् । बिहीबार रामेछापको दोरम्बामा आयोजित २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री दाहालले अहिले देशको नेतृत्वमा नेकपा माओवादी केन्द्र रहेको र जनताको मन जित्ने गरी काम गरे नेकपा माओवादी केन्द्र २०६४ कै अवस्थामा फर्किने दाबी गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले अहिले आम नागरिकको मन जित्ने गरी काम गर्ने बाहेकको अर्को विकल्प नभएको बताउँदै सरकारमा रहेका र पार्टीको विभिन्न तहमा रहेका पार्टी नेता तथा कार्यकर्तालाई जनताको मन जित्ने गरी काम गर्न अनुरोध समेत गरेका छन् ।
प्रधानमन्त्री दाहाल प्रचण्डले अहिले देशमा भइरहेको प्रतिगमन, भ्रष्टाचार, बेथिति, षड्यन्त्र, विभेद र अपमानका विरुद्धमा माओवादी शान्तिपूर्ण रूपमा आन्दोलन गर्दै जनतासँग जोडिने अभियानमा रहेको बताए । उनले अहिले सरकारमा सहभागी भएका राजनीतिक दल र आम नागरिकलाई सामाजिक न्याय, समृद्धि र सुशासनको निम्ति सरकारलाई साथ दिन आग्रह गरेका छन् ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै सहिद परिवारलाई परिपूरण कार्यक्रम मार्फत आर्थिक सहयोग, परिवारका सदस्यलाई जागिर, उपचारको व्यवस्था लगायतका विषय समेटिएको ऐन अहिले सदनमा भएको बताउँदै प्रधानमन्त्री दाहालले त्यो ऐनलाई पारित गरेर सहिद परिवारका काम पनि टुङ्ग्याउने धारणा राखे ।
रामेछापको दोरम्बामा २०६० साल साउन ३२ गते तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरूलाई तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिई डाँडाकटेरी भन्ने ठाउँमा लगेर हत्या गरेको थियो । उक्त घट्नामा परी २१ जनाले ज्यान गुमाएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्