
रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५औँ स्थापना दिवस अर्थात रजत वर्ष मनाएको छ । २५ वर्ष अघि सहकारी स्थापना भएको ठाउँ तत्कालीन मन्थली गाविसको टेकानपूर गाउँमा शुक्रबार संस्थाको २५औँ स्थापना दिवस मनाइएको हो ।



मन्थली नगरपालिका वडा नं २ टेकानपुरमा रहेको ताम्राकौशीका आधारभूत विद्यालयको प्राङ्गणमा मनाइएको कार्यक्रममा मन्थली नगरपालिका वडा नं २ का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीले गाउँको आर्थिक रूपान्तरणमा सहकारीले उल्लेख्य काम गरेको बताए । आगामी दिनमा सहकारीले आर्थिक कारोबारसँगै उत्पादनमूलक क्षेत्रमा बढी लगानी गर्दै जानु पर्नेमा जोड दिए । उनले अहिले गाउँको बैंकको रूपमा रहेका सहकारीले गरिबी नवरणमा थप सहयोग पुर्याएको बताउँदै सहकारीले शेयर सदस्य मैत्री काम गर्नु पर्नेमा जोड दिए ।

त्यस्तै मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होम प्रसाद पौडेलले गाउँको अर्थतन्त्र सुधार गर्नको लागि सहकारीले लगानी गर्नु पर्ने बताए । उनले कृषि तथा साना घरेलु उद्योगको क्षेत्रमा लगानी गरेर नागरिकहरूको जीवनमा आर्थिक परिवर्तन ल्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष टीकाप्रसाद भट्ट, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्का, ताम्राकौशीका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद दाहाल, नवजागरण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दिपक क्षेत्री कार्की लगायतले मन्तव्य राखेका थिए ।
नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम थापाले सहकारी संस्थाले समय अनुसार आफ्नो कार्यक्रम तय गर्दै गएको बताए । उनले नवजागरण सहकारीमा गाउँका नागरिकलाई आबद्ध गराई आर्थिक रूपमा सम्पन्न बनाउने गरी गाउँ बस्तीमा सहकारी शिक्षा पुर्याउने आगामी कार्यक्रम रहेको बताए । अर्थतन्त्रको एउटा पक्षको रूपमा रहेको सहकारी क्षेत्रले ग्रामीण अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
सहकारीले २५औँ स्थापना दिवसमा ताम्राकौशिका आधारभूत विद्यालय र बालकन्या आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको विद्यालय झोला वितरण गरेको छ । त्यस्तै सहकारीका संस्थापक अध्यक्ष झम्क बहादुर कार्कीलाई सम्मान प्रदान गरी सम्मान गरिएको थियो ।

२५ जना महिलाहरुले २५ वर्ष अगाडि सुरु गरेको सहकारीको अहिलेको कुल पुँजी ६६ करोड बराबरको कारोबार गरिरहेको संस्थाका सचिव सोमेश थापाले बताए । थापाका अनुसार सहकारीमा अहिले ९ हजार ५ सय सदस्य रहेका छन् ।
अहिले सहकारीको कार्यक्षेत्र मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिका रहेको छ ।



आफ्नो प्रतिकृया दिनुहोस्