

रामेछाप– नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३३ जना निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणामसँगै खुला, महिला, युवा, श्रमिक, पेशागत विज्ञ, आदिवासी जनजाति, खस आर्य, दलितलगायत विभिन्न समूहबाट ३३ जना निर्वाचित भएका हुन् । दलिततर्फ भने मुक्तबहादुर महते यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।



खुला १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धाबाट रामचन्द्र खड्का, लवश्री न्यौपाने, अर्जुन कुमार केसी, लेखबहादुर कार्की, दिपक खड्का, विनोद कार्की, निरोज खड्का, केशव महत, सुन्दर चालिसे र प्रकाश कटुवाल निर्वाचित भएका छन् ।
महिला तर्फ विनिता खड्का, चिना खड्का कार्की, एन्जिला न्यौपाने र उर्मिला कार्की निर्वाचित भएका छन् । श्रमिकतर्फ विष्णुकुमार घिसिङ, पेशागत विज्ञतर्फ नारायणकुमार घिमिरे, युवा महिलातर्फ ज्ञानु श्रेष्ठ, युवा खुलातर्फ उत्तमकुमार कार्की र विनोद बुढाथोकी निर्वाचित भएका छन् ।
अपाङ्गतातर्फ गुणराज भट्टराई ‘आकाश’, प्रजातान्त्रिक सेनानी तथा सहिद परिवारतर्फ आँधी लामा ‘सनक’ र अल्पसंख्यकतर्फ तोरण सुनुवार निर्वाचित भएका छन् । समानुपातिकतर्फ खस आर्य खुलाबाट काजीबहादुर खड्का ‘दिनेश’, कमान सिंह खड्का ‘दिपेन्द्र’ र सुरेश सुवेदी तथा खस आर्य महिलाबाट सिर्जना खड्का निर्वाचित भएका छन् । आदिवासी जनजाति खुलातर्फ नवराज थोकार, गेल्जे लामा शेर्पा र राजेशकुमार श्रेष्ठ निर्वाचित हुँदा जनजाति महिलातर्फ ज्योति सुनुवार, कुमारी हायु र रामकुमारी डाँगी निर्वाचित भएका छन् । समानुपातिक दलिततर्फ सन्ध्या घताने निर्वाचित भएकी छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका ३२ पदका लागि १ सय ८ जना प्रतिस्पर्धामा थिए । मंगलबार सम्पन्न निर्वाचनमा कुल १ हजार ७ सय ८४ मतदातामध्ये १ हजार ७ सय ३ जनाले मतदान गरेका थिए । यो कुल मतदाताको करिब ९५ प्रतिशतभन्दा बढी हो ।
यससँगै रामेछाप काँग्रेसबाट १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिको चयन प्रक्रिया सम्पन्न भएको छ । निर्वाचित प्रतिनिधिहरूमा विभिन्न समूह र समावेशी कोटाबाट प्रतिनिधित्व भएको छ ।


















