

रामेछाप– नेपाली काङ्ग्रेसको पन्ध्रौं केन्द्रीय महाधिवेशनको लागि रामेछाप बाट युवा नेता सौरभ केसीले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दिएका छन । नेपाल तरूणदलका केन्द्रीय सदस्य समेत रहेको केसी रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुमका स्थानीय बासिन्दा हुन । उनी यूवा उद्यमी व्यवसायीका रूपमा समेत परिचित छन । हाम्रो प्रहार डटकम सँग कुराकानी गर्दै नेता केसीले युवा सहभागी सशक्त बनाउन र युवालाई पार्टी राजनीतिको मुल प्रवाहमा ल्याउन महाधिवेशन प्रतिनिधिमा आफुले उम्मेदवारी दिएको बताएका छन ।



उनले भने, “नेपाली काङ्ग्रेस देशमा लोकतन्त्र स्थापित गर्ने पार्टी हो, नेपालको ठूलाठूला राजनीति परिवर्तनमा नेपाली काङ्ग्रेसका नवजवानहरूको महत्त्वपूर्ण योगदान छ, युवा लाई संगठित गर्न सक्ने काङ्ग्रेस चाहिन्छ त्यसको लागि मेरो उम्मेदवारी हो ।”विगत भन्दा यो पटकको नेपाली काङ्ग्रेसको महाधिवेशनको रौनक बढेको छ ।
युवा नेतृत्व, नवयूवाको प्रतिनिधित्व सहित राज्य सत्तामा पुगेर नेतृत्व गर्न सक्ने किसिमको पार्टी बनाउनुपर्ने अवस्था रहेको काङ्ग्रेस नेताहरू बताउँछन । सबै तिर चासोका साथ हेरिएको नेपाली काङ्ग्रेसको पन्ध्रौं केन्द्रीय महाधिवेशन असोज १६ गते काठमाडौंको खुल्ला मञ्चमा उद्घाटन हुनेछ । वडा, नगर, पालिका अधिवेशन सकेर काङ्ग्रेसले अहिले जिल्ला बाट केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै छ ।
असोज १३ गते मन्थलीमा महाधिवेशन प्रतिनिधि चयनको लागि मतदान हुने नेपाली काङ्ग्रेस रामेछापले जनाएको छ । जिल्ला अधिवेशन भने पछि हुनेछ ।

















