

रामेछाप– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा मंगलबार सम्पन्न निर्वाचनमा ९५ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरेका छन् । कुल १ हजार ७ सय ८४ क्षेत्रीय प्रतिनिधिमध्ये १ हजार ७ सय ३ जनाले मतदान गरेका हुन् । यो कुल मतदाताको ९५ दशमलव ४६ प्रतिशत हो ।



केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मतदानमा उक्त संख्यामा मत खसेको निर्वाचन समितिले जनाएको छ । यसैगरी रामेछाप प्रदेशसभा ‘क’ मा ८ सय ७२ जना र प्रदेशसभा ‘ख’ मा ८ सय ४१ जना मतदाताले मतदान गरेका छन् ।
मंगलबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म सञ्चालन भएको थियो । मतदान प्रक्रिया सम्पन्न भए पनि मतगणना भने बुधबार बिहानदेखि मात्रै सुरु गरिने नेपाली कांग्रेस रामेछाप निर्वाचन समितिले जनाएको छ ।
रामेछापका दुई प्रदेशसभा निर्वाचन क्षेत्रका पदाधिकारी, प्रदेश अधिवेशन प्रतिनिधि तथा एक संघीय निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनमा सहभागी हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिसहित ९३ जना निर्वाचित हुने गरी निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरले जिल्ला अधिवेशन उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताए । उनले क्षेत्रीय प्रतिनिधिसहित कांग्रेसका नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिताले पार्टीलाई थप बलियो र सशक्त बनाउन योगदान पुग्ने धारणा व्यक्त गरे ।
निर्वाचनमा ठूलो संख्यामा मतदाताको सहभागिता देखिनुले रामेछाप कांग्रेसको आन्तरिक निर्वाचनप्रति नेता तथा कार्यकर्ताको सक्रियता र चासो देखाएको छ कार्यवाहक सभापति थोकरले भनाइ राखे ।
नेपाली काँग्रेसको १५ महाधिवेशनको कार्यतालिका अनुसार जिल्लाको नेतृत्व र कार्यसमिति निर्वाचनको कार्यतालिका भने अहिले सार्वजनिक भएको छैन् ।

















