
रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित सबै भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्दै कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको छ भने पशुपति मावि सुनापति– ३ नागसिवाले ३ स्वर्ण पदक जित्दै तेस्रो भएको छ ।




त्यस्तै कृष्णवर्णेश्वर मावि सुनापति– २ मानपुरले २ स्वर्ण जितेको छ भने कुशेश्वर मावि सुनापति–४ बेथानले २ स्वर्ण जितेको छ । त्यस्तै सतलिङ्गेश्वर मावि सुनापति– १ गुन्सीले १ स्वर्ण पदक जितेको छ भने जलदेवी मावि सुनापति– ५ खनियापानीले १ स्वर्ण जितेको छ । प्रतियोगितामा भाग लिएका अग्लेश्वर मावि सुनापति–२ दिमीपोखरी र बाल मावि भिरकोटले भने एउटा पनि स्वर्ण पदक जितेका छैनन् ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि सुरु भई मंगलरबार सम्पन्न सातौं रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका ९ वटा विद्यालयले भाग लिएका थिए ।
पदक जित्ने खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण तथा समापन कार्यक्रममा बोल्दै सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले रनिङ शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरूले कुनै पनि हारजितको रूपमा नहेरी निरन्तर अभ्यासको रूपमा लिन आग्रह गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भाग लिएर शिल्ड जित्नेगरी अभ्यास गर्न आग्रह गरे । उनले सुनापति गाउँपालिकाको खेलकुद विकासमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनको लागि अब अभ्यासका खेलहरू खेलाइने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको समापन तथा शिल्ड, मेडल र प्रमाणपत्र वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता विष्ट, गाउँपालिका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष पदम थापा, वडा नं १ का वडाध्यक्ष ध्रुव चौलागाई, वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङ, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नं ५ का वडाध्यक्ष चित्रबहादुर मानन्धर लगायतको सहभागिता रहेको थियो ।


















