
रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम जिल्ला भेलाले लामाको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । प्रथम भेलाले अध्यक्षमा चिना लामा, उपाध्यक्षमा दामोदर तामाङ, सचिवमा मोतिलाल घिसिङ, तीन उपसचिवमा क्रमशः सागर थापा, अर्जुन घिसिङ र तेन्जिङ लामा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा देव रुम्बा चयन भएका छन् ।



उज्यालो नेपाल पार्टी रामेछापको प्रथम भेलाबाट अध्यक्षमा चयन भएका लामाले उज्यालो नेपाल पार्टी रामेछापलाई जनतामैत्री पार्टी बनाउँदै रामेछापका नागरिकका समस्यासँग सँगै रहने समाधानमा लाग्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सभाको निर्वाचनमा दुई प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा ८ ओटै स्थानीय तहमा उज्यालो नेपाल पार्टीले जित्ने गरी कार्यक्रमहरू गर्ने धारणा राखे ।
जिल्ला भेलामा बोल्दै उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले रामेछाप जिल्लालाई हाँक्न बनेको नयाँ समितिलाई बधाई दिँदै नयाँ कार्यसमितिलाई जिल्लाका हरेक नागरिकलाई उज्यालो नेपाल पार्टीमा जोड्ने गरी काम गर्नलाई अनुरोध गरे । उनले देशका सबै पार्टीको विकल्पमा उज्यालो नेपाल पार्टी भएकाले अब देश बदल्ने पार्टी उज्यालो नेपाल मात्रै भएको दाबी गर्दै देशैभरका नागरिकलाई उज्यालो नेपाल पार्टीमा जोडिन अनुरोध गरेका छन् ।
जिल्ला भेलामा उज्यालो नेपाल पार्टीका विभिन्न तहका नेताहरूले आफ्नो धारणा राखेका थिए । उनीहरूले जिल्लामा उज्यालो नेपाल पार्टीलाई पहिलो पार्टी बनाउने गरी लाग्नु पर्नेमा जोड दिँदै नयाँ कार्य समितिले त्यही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरे ।


















