

हामीले सानै उमेरदेखि परिवर्तनको बाटो खोज्यौँ । त्यस्ता साहित्य खोजी खोजी पढ्यौँ । जुन साहित्यले क्रान्तिको मार्ग फराकिलो बनाउँछ । हामीले सर्वसुलभ पुस्तक लेनिन र माओत्सेतुङका कीर्तिहरू पढ्यौँ । त्यहाँ महत्त्वका साथ लेखिएका तीन/आठ नियमलाई आफ्नो आदर्श मान्यौँ । रातो पुस्तकले महत्त्व दिएको “सादा जीवन उच्च विचार” हाम्रो व्यवहारको कसी बनायौँ । क्रमशः हामी सादगी हुँदै गयौँ ।



फाटेका कपडा लगाएर गाउँ गाउँमा डुल्दा हामीलाई माया गर्नुहुने शिक्षकहरूले लगाउँदै गरेका कपडा दिनु हुन्थ्यो । ती कपडा लगाएर कैयौँ वर्ष बितायौँ । पस्किई सकेको खाना आधा हामीलाई छुट्याएर आधा पेट खाएर काममा जानु भयो । सामान्य खर्च पनि उहाँहरूले नै दिनु भयो । हामीले दिएका विचार प्रशासनका लात सहेर गाउँ गाउँमा प्रचार गर्नु भयो । त्यस यता जो परिवर्तन भयो । हामी शासक भयौँ, उहाँहरू शासित हुनुभयो । हामी पनि जीवित छौँ । उहाँहरू पनि जीवितै हुनुहुन्छ । हाम्रो हिजो थाहा पाउनु भएको थियो । आज भोगिरहनु भएको छ । भोलीको समेत अनुमान लगाउने क्षमता राख्नुहुन्छ ।
परिस्थितिले हामी खुला थियौँ, राजनीतिक नेता भयौँ । उहाँहरू भर्खर सेवा र सामान्य बन्धनमा हुनुहुन्थ्यो । अहिले बल्ल सेवाबाट अवकाश हुँदै हुनुहुन्छ । ती गाउँ गाउँमा हामीले मन्त्रणा गरेका विचार फैलाउने पेशेवर साथीहरू पेशाको ढोकाबाट बाहिर आएर हेर्दा हाम्रो रूप बदलिएको देख्नु भएको साँचै हो । हिजो उहाँहरूद्वारा प्राप्त भएका जुत्ता राख्ने खोपामा ती साथीको घरबारी बेचेर किन्दा पनि नआउने महङ्गा जुत्ता सजिन थालेछन् । जडाउरी झुण्डिने सिँगौरामा ब्राण्डेड कपडा झुण्डिएको अवस्था देखिँदै गयो ।
त्यसबेलाका हाम्रा प्रशिक्षण भूईमान्छे आधारित कर्णप्रिय थिए । सुनचाँदी केहि होइन, एक किसिमको धातु हो । त्यसलाई धेरै महत्त्व दिनु हुँदैन । सुनचाँदीको हँसिया बन्दैन, हथौडा बन्दैन कृषि होस् वा औद्योगिक उत्पादनमा काम लाग्ने औजार बन्दैन, भन्ने हामी नै हौँ । त्यसलाई अरु पुष्टि गर्न रुसमा कमरेड लेनिनले “सुन खिया नलाग्ने धातु हो । यसले गहना बनिएर मानिसलाई दास बनायो । यसलाई क्रान्तिपछि चर्पीमा सजाउनु पर्छ” भन्नु भयो, भन्ने उदाहरण दियौँ । त्यसबेला के के भन्यौँ, भन्यौँ । यहाँ लेखेर साध्य छैन ।
बहुमूल्य हिरा, मोति, मणिमाणिक्यले सुशोभित श्रीपेच लगाएको अत्याधुनिक तालिमप्राप्त सेनाले घेरिएको राजतन्त्र, सायद यति छिट्टै गद्दी छाड्ला भन्ने थिएन । त्यसका फुर्मासी जिन्दगीका बारेमा पनि अनेकानेक भन्यौँ । दाङ भ्रमणमा पालुङ्गाको साग र बेमौसमी काँक्रो खान मन लागेर हेलिकप्टर बाट एक मुठो साग र काँक्रो काठमाण्डौँबाट ओसार्यो भन्यौँ । यता जन्मोत्सव मनाउन हामीले झन् पाँच छ वटा हेलिकप्टरबाट केक ओसारेनौँ र ! राजाका पालाको ब्रह्मलुटको कथा सुनेको कार्यकर्ताले एक पित्को केक खान हजुरका सामु हात पसारेको हामी आफैँले देख्यौँ । ऊ सत्ता च्यूत भयो, बाहिर बस्यो, यतै बस्यो । बिहे व्रतबन्धमा पनि आतेजाते हुन थाल्यो । अब सबै छर्लङ्ग छैन ! हाम्रो बोली र व्यवहार मिल्यो र !!
त्यसबेला दुई फिटको लौरो हल्लाउँदै गाउँमा प्रहरी प्रवेश गर्थ्यो । सुन्नासाथ हामी डरले गाउँघर छाड्थ्यौँ । व्यवस्था परिवर्तन हुनासाथ हाम्रा हातमा सब थोक आयो । रहँदा बस्दा हामीलाई त्यही प्रहरीको उपल्लो हाकिमले सलाम ठोक्न थाल्यो । दुर्भेद्य किल्ला ठानेको सेनाका जर्नेलले पनि सलाम ठोक्न थाले । यी त अनुशासित शक्ति थिए, ठिकै थिए । हाम्रो पनि आदेश पालना गरिरहे ।
समस्या त्यसबेला आयो, जब राजतन्त्रका अनुभवी चालकसँग सतर्कतापूर्वक विचौलियागिरी गरिरहेका “समाजसेवी”हरू हामी अनुभवहीन नवीन महामहिमसँग मान्छेहेरी कतै जय नेपाल, कतै लालसलाम, भन्दै उठबस गर्ने वातावरण बन्न थाल्यो । धेरै पनि बिग्रिएको थिएन । जब त्यस्तासँग उठबस बाक्लिन थाल्यो । शिक्षकका जडाउरी भन्दा तिनका नाडीका घडी, कुममा झुण्डिएका झोला, तिनका पयरका जुत्ता गलाको माला आदिमा परिवर्तनकारी नजर परे । मान्छेको मन न हो, मनकारीहरूले काम अनुसारको उपहार पनि टक्रयाउँदै जान थाले । क्रान्तिकारी जनले तिनै उपहार (जडाउरी) मा सजिँदा सजिँदै हिजो आफैँले गरेको प्रशिक्षणले आफैँलाई गिज्याउन थाल्यो । यसलाई टालटुल गरेर टालिने अवस्था छैन । भ्वाङ निकै ठुलो छ । सितिमिति उम्तरेर टालिनेवाला छैन । जनताले इमानदारिता खोजिरहेका छन् ।
हामीले बौद्धिक समुदायका तर्कलाई महिनौँ टण्टलापुर घाममा टट्यायौँ । असल तर्क पनि त सुनेनौँ । व्यवहारले होइन, मुखले हेपाईपूर्ण जवाफ दियौँ । काम गर्न खटिएका ठाउँमा मुखाले भयौँ । कामभन्दा कुरा धेरै गर्न थाल्यौँ । तथापी नेपाली जनताका अनेकौँ तह र तप्काले हामी के थियौँ । के छौँ ! देखिरहेकै छन् ।
केही वर्ष यता नेपालमा बहुमूल्य घडीको खुब चर्चा छ । केटाकेटीमा ठूला मानिसहरू हाम्रा नाडीमा कलमले लेखेर घडी बनाइदिन्थे । हामी दङ्ग पर्थ्यौँ । पछि सक्ने हुँदा भारतबाट आउनेहरूबाट झिकाएर सस्तो र बलियो मानिने जनता घडी लगाउँथ्यौँ । मलायाका लाहुरेहरूले मूल्यवान घडी ल्याउँथे । गाउँका सम्पन्न भनिएकाहरू त्यस्ता घडी लाउँथे । हिजो पनि वर्ग छुट्याउने साधन घडी नै थियो । सस्तो लगाए पनि महँगो लगाए पनि घडीको काम समय दिने हो ।
कचौरामा पानी राखेर पानीभरि घडी राखिएका हुन्थे । ती घडी सस्ता र भरपर्दा हुन्थे । साठी रुपैयाँमा स्तरीय घडी पाइन्थ्यो । मेरो एक जना साथीले रत्नपार्कतिरबाट कचौरामा डुवाइएका त्यस्तै घडी लगाउनु भएको रहेछ । एक जना हाकिमले महङ्गो घडी लगाएका रहेछन् । मेरो साथी ती हाकिमका पनि हाकिम थिए । उनले वल्टाइपल्टाइ गरेछन् । मन पर्यो भने लाउनुस्, भनिदिनु भएछ । उनले रत्नपार्कको कचौराको घडीमा महङ्गो घडी साटे । समय दिनु हो, दुवै घडीले समय दिएकै थिए ।
एकातिर उद्देश्यका निम्ति दृढ, आफूभन्दा अगुवा नेतृत्व (माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमहरू) विकर्षित गराइयो । अर्कातिर भीमबहादुर रावललाई चुनाव चिह्न नदिँदै गर्दा कमल थापालाई पार्टीको सूर्य चिह्न प्रदान गरियो । कैयौँ विद्वान् प्राज्ञ वाम आन्दोलनमा हुँदाहुँदै जगमान गुरुङलाई मुलुकको महत्त्वपूर्ण बौद्धिक केन्द्रमा रजगज गराइयो । कैयौँ वर्ष पार्टीमा निरन्तर खटेका कार्यकर्ताको डिएनएको रिपोर्ट प्रयोगशालाबाट नआएको भन्दै, दुर्गा प्रसाईंलाई सोझै कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बन्ने अवसर दिइयो । आफैँ भित्रका कैयौँ योग्य कार्यकर्तालाई अन्तर्घात गरिरहँदा राजेन्द्र लिङ्देनलाई मत दिइयो । त्यस्तै सर्वेन्दनाथ खनाल लगायत अनेकौँलाई अवसर र अनेकौँलाई दुःख दिएको शृङ्खला निकै लामो छ । विकर्षित हुँनेलाई झोली तुम्बा सहित आउने निम्ता दिँदै गर्दा हिजो आकर्षित गरिएकाहरू प्रति किन बोलेनौँ । विगारा सत्य यहिँ छ ।
यावत् कुरा हेर्दा हाम्रै कर्मले भयङ्कर अक्करको डिलमा पुगेर ढलपल ढलपल गर्दै गरेको लक्षण समयले दिँदै थियो । कर्मले हजारौँ योद्धा र सहयोद्धाहरूको रगत, आँसु, पसिनालाई धोखा दिइरहेको थियो । हामीलाई हाम्रै बोलिले धिक्कारी रहेको थियो । आफ्नै छायाले आफैँलाई तर्साइरहँदा पनि हामी सगरमाथा माथि ठड्याइएको उच्च टावरमा मस्त निदाईरहेका थियौँ । कसले हुत्यायो नै थाहा छैन । अहिले ब्युँझिएर हेर्दा केचनाको किचडमा पो डङ्ग्रङ्ग ढलेर बर्वराइरहेका रहेछौँ ।
यता हामीमा चेष्टा आउन बाँकी नै छ । हामीलाई जसले लडायो भनियो, ऊ त बल्ल पो नेता खोज्दै छ । कर्मकाण्डी आत्मरतिले जनतामा विश्वास जाग्दैन । विगतदेखिका कथनी, करणीलाई निर्मम समीक्षा गरौँ । धर्खराउँदै भए पनि अग्लो पहाडमा चढेर सबै जनताले सुन्ने गरि सामूहिक स्वरमा आफूतर्फ फर्किएर आफैँ धिक्कारौँ ! आफूले आफैँसँग निर्मम आत्मालोचना गरौँ । मञ्जुर छ ! छ भने, गोलमेच गरौँ, सामूहिक माफी मागौँ ।
(लेखक पौडेल नेकपा एसका केन्द्रीय सदस्य हुन)

















