

रामेछाप– सहरको चकाचक जीवन वा विदेशी कमाइको सपना धेरै युवाका रोजाइ हुन् । तर, लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँका २३ वर्षीय इश्वर बर्मशाखाले भने फरक बाटो रोजे । जीवनको कठिन मोडमा गाउँपालिकाबाट पाएको एक सानो सहयोगले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो । अहिले उनी आत्मनिर्भर युवाको प्रेरणादायी व्यक्ती बनेका छन् ।



इश्वरको संघर्षको कथा कोभिड महामारीसँगै सुरु हुन्छ । कोभिडकै कारण बुबाको दुखद निधनले कमजोर आर्थिक अवस्थाबिच सिंगो परिवारको जिम्मेवारी उनीमाथि आयो । त्यो उमेरमा अधिकांश युवाले रोज्ने बाटो थियो– वैदेशिक रोजगारी । इश्वर पनि सोही सोचमा थिए । तर, गाउँपालिकाको एक सानो पहलले उनलाई गाउँमै रोक्यो, र अब उनी गाउँमै उद्यमी बनेका छन् ।
सानैदेखि कर्मशील र आत्मनिर्भर सोच भएका इश्वरले साथीहरूसँग मिलेर गाउँको खोला निजक बंगुर पालन सुरु गर्ने सोचका साथ केही संरचना निर्माण गरेका थिए । तर, खोलामा आएको बाढीले सबै संरचना बगायो, सपना सबै चकनाचुर भयो । हिम्मत नहारेर पुनः अर्को ठाउँमा उनले बङ्गुर पालन सुरु गरे । तर यस पटक साथीहरूले साथ छोडे, पुँजी सकियो, अनि उनले विदेश जाने निधो गरे ।
पासपोर्ट बनाउने तयारीका साथ उनी स्वास्थ्य परीक्षण गर्न काठमाण्डौं पुगे । दुर्भाग्यवश, स्वास्थ्यमा देखिएको सामान्य समस्या कारण उनले तत्काल विदेश जान सकेनन् । गाउँ फर्केर केही आफ्नै व्यवसाय गर्ने सोच बनाए पनि पुँजीको अभावले उनको सोच अघि बढ्न सकेको थिएन । त्यही बेला गाउँपालिकाले कृषि तथा पशुपालनमा संलग्न युवालाई अनुदान दिने कार्यक्रम ल्यायो । इश्वरका लागि गाउँपालिको उक्त कार्यक्रम गतिलो अवसर बन्यो । गाउँपालिकाबाट १ लाख १० हजार रुपैयाँको अनुदान पाएपछि उनले विदेश जाने योजना परित्याग गरे र बाँकी पुँजी आफैं जुटाएर बङ्गुर पालनलाई व्यावसायिक रूपमा अघि बढाउने अठोट गरे ।

आज इश्वरका खोरमा करिब २० वटा बंगुर छन् । केही बिक्री योग्य अवस्थामा छन्, केही हुर्किँदै छन् । उनले यो व्यवसायलाई केवल जीविकोपार्जनको माध्यम नभई आत्मनिर्भरता, स्वाभिमान र सम्भावनाको प्रतीक मानेका छन् । मेहनत गर्न सके बंगुर पालनबाट राम्रो आम्दानी लिन सकिने र चाँडै विक्री हुने भएकाले बंगुर पालन आफ्नो रोजाइमा परेको उनले बताए । उनी भन्छन्,“अहिले पशुपालन मध्ये बंगुर पालन राम्रो व्यवसाय भित्र पर्दो रहेछ । राम्रोसँग बंगुर हुर्काउन सक्यो भने तुरुन्तै विक्री हुने र अन्य पशुपालन भन्दा बंगुर पालनमा लगानी कम तर आम्दानी बढी हुने रहेछ । त्यसैले पनि मेरो रोजाइमा बंगुर पालन पर्यो ।”
इश्वरको सफलता गाउँका अन्य युवाहरूका लागि प्रेरणा बनेको छ । “गाउँमै केही गर्न सकिँदो रहेछ,” भन्ने आत्मविश्वास इश्वरले अरूमा रोपेका छन् । गाउँपालिकाको सानो सहयोगले युवा उद्यमशीलताको ढोका खोलिदिन्छ भन्ने प्रमाण पनि यही हो । आज इश्वरको सपना व्यक्तिगत सीमाभन्दा बाहिर निस्किएको छ । उनी भन्छन्, “अब म चाहन्छु, अन्य युवासमेत गाउँमै केही गरून् । हामी गाउँमै रोजगारी सिर्जना गरौँ ।”


















