

आज शनिवार महिला दिवसको विशेष कार्यक्रम थियो । सुनापति गाउँपालिका वडा नं ३ मा आयोजना भएको कार्यक्रममा महिला सशक्तीकरणका कुरा भए, नाराहरू घन्किए, भाषणहरू भए । कार्यक्रम सकिएपछि म स्कुटरमा मन्थली फर्किँदै थिएँ। साँझको समय, हावा हल्का चिसिएको थियो। स्कुटरको गतिसँगै मनमा पनि महिला दिवसकै कुरा घुमिरहेका थिए- महिला अधिकार, बालबालिकाका अधिकार, समानता, शिक्षा।



खाँडादेवी गाउँपालिकाको खाँडादेवी मन्दिरतर्फ जाने बाटोको नजिक पुगेको थिएँ। बाटो छेउमा एकजना सानो बालक देखेँ- काँधमा ठूलो काठ काट्ने आरा बोकेको, अनुहारभरि दिनभरको पसिना, च्यातिएको पाइन्ट, छिन्न लागेको चप्पल । उनको हुलियाले नै भनिरहेको थियो- उनी कमजोर आर्थिक अवस्थाका परिवारका सदस्य हुन् ।
मैले स्कुटर रोकेँ। बालकले मलाई रोक्दै भने, “दाई, मलाई पनि लगिदिनु न!”
मैले आरा देखेँ, काधमा राखेर बसेको थियो। त्यसलाई लिएर स्कुटरमा बस्न गाह्रो हुन्छ भन्ने लाग्यो। तर बालकसँग केही कुरा गर्ने मन लाग्यो।
“नाम के हो बाबु?” मैले सोधेँ।
“सन्तोष,” उनले मधुरो स्वरमा भने। (नाम परिवर्तन)
“कति वर्षको भयौ?”
“१० वर्ष,” उनले मासूम अनुहारले हेर्दै भने।
“कक्षा कति पढ्छौ?”
“२ मा,” उनको जवाफ छोटो थियो।
मैले उनलाई सोधेँ, “यो आरा कहाँबाट ल्याएको?”
“बुबासँग काम गरेर आएको,” उनले भने।
“बुबा खोइ त?”
“आउँदै हुनुहुन्छ,” उनले बाटोतर्फ हेर्दै भने।
उनको कुरा सुन्दा मन अमिलो भयो। १० वर्षको उमेरमा, जब अन्य बच्चाहरू खेल्ने, पढ्ने उमेरमा हुन्छन्, सन्तोष भने बुबासँग काम गर्छन्। परिवार चलाउन उनको पनि भूमिका छ।
अझै बुझ्न मन लाग्यो। मैले सोधेँ, “घर कहाँ हो बाबु?“
“अलि माथि हो ।”
मैले फेरि सोधेँ, “आमा खोइ त?”
बालक एकछिन चुप लागे। अनि टाढा हेर्दै भने, “आमा गाउँका मान्छेको मल बोक्न जानुभएको छ ।”
मेरो मन एक्कासि भारी भयो। एउटा १० वर्षको बालक जसले परिवारलाई सघाउनु पर्छ, आमा जसले बाँच्नकै लागि अरूको खेतमा मल बोक्नुपर्छ।
आज महिला दिवस । नारा- “सबै महिला तथा बालबालिकाका लागि: अधिकार, समानता र सशक्तीकरण !”
के यो नारा सन्तोषको आमालाई लागू छ? के उनले सशक्तीकरणको अनुभूति गरेकी होलिन्? के सन्तोषले बालअधिकार पाएको छ? नारा बनाउनेले किन देख्दैनन् यस्ता बालक? अधिकार कार्यान्वयन गराउनेहरू के गरेर बसेका छन् ?
म एकछिन केही बोल्न सकिनँ । केही गर्न नसक्ने अवस्थाको असहाय अनुभूति भयो।
त्यसपछि मैले निर्णय गरेँ, सन्तोषलाई स्कुटरमा हालेर केही परसम्म भए पनि छोडिदिन्छु।
“आरा समाएर बस्न सक्छौ ?” मैले सोधेँ।
“सक्छु,” उनले निधो गरेर भने।
मैले उनलाई पछाडि बस्न लगाए, बिस्तारै स्कुटर अघि बढाएँ। उनलाई करिब ३०० मिटर सम्मको बाटो काट्दा मैले भने,”बाबु तिमि सानै छौँ । धेरै पढ्नु पर्छ । बिदाका दिन बाहेक सधैँ स्कुल जानु है ।” उनले सानो स्वरमा ‘हुन्छ दाई’ भने । खाँडादेवी मन्दिरतर्फ लाग्ने बाटोसम्म उनलाई छोडिदिएँ।
“धेरै धन्यवाद दाई,” उनी ओर्लिँदै भने।
मैले केही जवाफ दिन सकिनँ। उनलाई हेर्दै, मनभरि असहाय भावनासहित मन्थलीतर्फ लागेँ।
स्कुटरको गति त तीव्र थियो, तर मनमा उथलपुथल थियो। एक छिन अघिसम्म महिला दिवसका भाषणहरू सुनेर फर्किँदै थिएँ, तर यो यात्राले मलाई अर्को कथा देखाइदियो— वास्तविकता कति कठोर छ!
महिला सशक्तीकरणका नाराहरू कहिलेसम्म नारामै सीमित हुने? सन्तोषका आमा जस्ता महिलाहरू कहिले समानता अनुभूति गर्ने? सन्तोष जस्ता बालबालिकाले कहिले शिक्षा, खेलकुद, रमाइलो गर्ने अवसर पाउने?
महिला दिवसको नारा आज मेरो कानमा गुञ्जिरहेको थियो, तर मेरो मनमा त्यो नारा चिसो बनेर बजिरहेको थियो- शब्दहरूको मात्र झझल्को दिएर !
यो काल्पनिक कथा जस्तै छ । तर, यो कथा नभएर यथार्थ भोगाई हो । उनिसँग भएको भिडियो कुराकानी समेत म सँग सुरक्षित छ । उनको गोपनियतालाई ख्याल गरेर उनको अनुहारलाई नचिन्ने बनाएर परिवर्तित नाम राखिएको हो ।



आफ्नो प्रतिकृया दिनुहोस्