
सुनापति- रामेछापको सुनापति गाउँपालिका, वडा नं. १, गुन्सीकी धनमाया तिवारीले सानो छँदा अक्षर चिन्न पाइनन् । घरको काम, खेतबारी, अनि गाईबस्तु पाल्नमै उनको जीवन बित्यो। शिक्षा भनेको के हो भन्ने कुरा उनले कहिल्यै बुझ्न पाइनन् । तर, समयसँगै उनका सन्तान जन्मिए, हुर्किए, र विद्यालय जान थाले। उनले पढाइको महत्व छोराछोरीको किताब हेर्दै बुझेकी थिइन् ।




२०६४ सालमा, उनका जीवनमा एक ठूलो दुर्घटना भयो—श्रीमानको अकस्मात् निधन । उनी एक्लै भइन्, चार सन्तानको अभिभावकत्वको जिम्मेवारी पूरा गर्ने चुनौती उनको काँधमा आयो । कसरी परिवार पाल्ने ? कसरी छोराछोरीलाई पढाउने ? यी प्रश्नहरूले उनलाई दिनरात सताउन थाल्यो ।
श्रीमान् बितेको केही महिनापछि, गाउँमा प्रौढ शिक्षा कार्यक्रम सुरु भयो । धनमायाले मनमा हिम्मत जुटाइन्—”अब म पनि पढ्छु!”। उनी दिनभरि काम गर्थिन्, साँझतिर तीन महिने प्रौढ कक्षामा जान्थिन् । अक्षर लेख्न, पढ्न सिकिन् । जब उनले पहिलोपटक आफ्नो नाम आफैं लेख्न सकिन्, उनको आँखामा खुसीका आँसु भरिए । “अब म अनपढ छैन !” उनले आफैंलाई भनिन् ।
शिक्षाले उनलाई थप आत्मविश्वास दियो । उनले आफ्ना सन्तानलाई अझ राम्रो पढाउने प्रण गरिन् । सानो खेतीपाती, मजदुरी, र गाउँमा साना व्यवसाय गरेर उनले छोराछोरीलाई उच्च शिक्षा दिलाइन् । सबै आ-आफ्नो ठाउँमा सफल भए । यो उनको ठूलो जित थियो ।
समय बित्दै गयो । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सुनापति गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्यो । धनमायाले पनि भाग लिइन् । माइक्रोफोन अगाडि उभिँदा उनको मन छिनछिनमा ढुकढुक भयो । तर, जब उनले बोल्न सुरु गरिन्, उनका शब्दहरूले सबैलाई छोयो ।
“म सानो छँदा, राणा शासकको शासन थियो। महिलाहरू बोल्न सक्दैनथे। पढ्न त झन् सपनाजस्तै थियो । म आफैं पनि शिक्षाविहीन थिएँ। तर, समय बदलियो। कानुन बदलियो । अब हामी बोल्न सक्छौं, पढ्न सक्छौं, देश चलाउन सक्छौं । म अनपढ भए पनि आज म यहाँ उभिएर बोल्न पाएकी छु । यो अधिकार हाम्रै मेहनतले आएक हो । अब यो कानुनलाई सही तरिकाले प्रयोग गरौँ । सक्षम महिलाहरू देश चलाउन अगाडि बढौँ।”
उनको भाषण सुन्दा सबैले ताली बजाए । धनमायाको जीवन संघर्ष र साहसको कथा गाउँभरि प्रेरणाको स्रोत बन्यो । उनीजस्तै धेरै महिलाहरूले शिक्षा र आत्मनिर्भरताको यात्रामा अघि बढ्ने हिम्मत पाए । बक्तत्वकला प्रतियोगितामा उनले भाग मात्रै लिनन्, १५ सहभागी महिलाको बिचमा सान्तोन्व हुँदै एक हजार रुपैयाँ पुरस्कार समेत जितिन् ।
धनमाया तिवारीको संघर्ष मात्र उनको व्यक्तिगत जित थिएन । यो एउटा उदाहरण थियो—शिक्षा उमेरले होइन, इच्छाशक्तिले निर्धारण गर्छ । बोल्न पाउने अधिकार केवल कानुनी शब्द मात्र होइन, संघर्षले प्राप्त गरेको मूल्यवान् सम्पत्ति हो । धनमायाको सपना थियो—उनले भोगेका दुःख अरू महिलाले नभोगून् । त्यसैले उनले अन्तिम वाक्य जोडिन्— “अझै धेरै लड्नुछ, अझै धेरै सिक्नुछ !”




आफ्नो प्रतिकृया दिनुहोस्