रामेछाप- सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकसम्ममा गरेका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयसँग सम्बन्धित भएर सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्ममा पालिकाबाट प्रवाह विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा सुनापति गाउँपालिकाका आम नागरिकको सहभागितामा मंसिर ७ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको हो ।
गाउँपालिका र गाउँपालिका मातहतका शाखा, इकाई, केन्द्र र वडा कार्यालयबाट हुने सेवा प्रवाहको स्थितिलाई थप प्रभावकारी र गुणस्तरीय बनाई सार्वजनिक पदाधिकारीहरूमा जिम्मेवार बन्ने संस्कार बसाउन तथा नागरिकको सन्तुष्टिलाई मुखरित गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्न लागिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए ।
एक चौमासिकमा कम्तीमा एक पटक सार्वजनिक सुनुवाइ गर्नु पर्ने कानुनी व्यवस्था भएको र उक्त व्यवस्था अनुसार पहिलो चौमासिक सम्ममा पालिकाबाट भएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयलाई सार्वजनिक गर्ने र ती विषयमा नागरिकबाट आएका सुझावहरूलाई सुधार गर्न समेत मद्दत पुग्ने भएकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागिएको उनले बताए ।
सार्वजनिक सुनुवाइले पालिकाका सेवालाई थप जनमुखी, पारदर्शी र छिटो छरितो बनाउनुको साथै सरकार र नागरिकबिचको सम्बन्धमा पनि बलियो सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको दाबी रहेको छ । उनले सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएर पालिकाबाट भएका विकास निर्माण, सेवा प्रवाह र पालिकासँग भएका विभिन्न गुनासासँगै समस्या राख्न र जिम्मेवार बक्ताहरुबाट जबाफ खोज्न सार्वजनिक अनुरोध समेत गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्