रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं १ मन्थली बजारबाट मन्थलीकै वडा नं ४ सालु तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परी घाइते भएका पाँच मध्ये थप एक जनाको मृत्यु भएको छ । घाइते मध्ये धुलिखेल अस्पतालमा उपचार गराइरहेका दिलिप कुमार बरुवाको मृत्यु भएसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । आइतबार दिउँसो ७ यात्रु सवार बोलेरो दुर्घटनामा परी एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य पाँच जना घाइते भएका थिए ।
बोलेरो जीपको चालक समेत रहेका अर्का घाइते गुन कुमार थापामगरको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको बताइएको छ । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
अन्य घाइतेहरू सिता नेपाली, सुजिता रसाइली र सरिता नेपालीको मन्थलीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए ।
बोलेरोमा जीपमा सवार चालक सहित सबै यात्रु मन्थली नगरपालिका वडा नं ४ सालुका रहेका थिए । बोलेरो सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्