रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ मा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । आइतबार बिहानको समयमा गएको पहिरोले वडा नं ३ को लेखर्कमा ३ ओटा घर पूर्ण रूपमा बगाएको र एक घर पुरिएको अवस्थामा रहेको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताए । मोक्तानका अनुसार पुरिएको घरमा २ जना मृत भेटिएको र एक जना घाइते अवस्थामा भेटिएका छन् ।
रातको समयमा गएको पहिरोले ३ वटा घर पूर्ण रूपमा बगाएर करिब ५ सय मिटरको दुरीमा रहेको खेलामा पुर्याएको कारण कति मानिस पुरिएका छन् भन्ने कुरा यकिन हुन नसकेको र अहिले घटना स्थलमा पुगेर विवरणहरू लिने कामसँगै उद्धारको काम भइरहेको अध्यक्ष मोक्तानले बताए ।
पहिरोले क्षति पुर्याएको लेकखर्काको बस्ती भिरालो जमिनमा रहेको र शनिवार राती देखि आइतबार बिहान सम्म निरन्तर भारी वर्षाको कारण गाउँ नै बगाएको अध्यक्ष मोक्तानले बताए ।
इलाका प्रहरी कार्यालय टोकरपुरका प्रहरी निरीक्षक सानुकान्छा रम्तेलको नेतृत्वमा पहिरोले क्षति पुर्याएको ठाउँमा पुगेर घटनाको बारेमा जानकारी लिने र उद्धारको काम सुरु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्