
रामेछाप– नेपाल प्रेस युनियन रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा लगाएको ताला खोलेको छ । युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १५ गते देखि लगाएको ताला मंगलवार खोलेको हो ।




नेपाल पत्रकार महासंघको सदस्यताको विषयलाई लिएर नेपाल प्रेस युनियन रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको कार्यालयमा आफ्ना विभिन्न मागहरू राख्दै तालाबन्दी गरेको र हाल सदस्यताको विषयमा नेपाल प्रेस युनियन केन्द्रीय समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समिति बिच नै आन्दोलनका क्रममा लगाएका ताला खोलेर समस्या समाधान तर्फ जाने सहमति भएपछि रामेछापले ताला खोलेका नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठले बताइन् ।
जिल्ला अध्यक्ष श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘लामो समय देखि तालाबन्दी भएको कारण नेपाल पत्रकार महासंघ रामेछापको सम्पूर्ण गतिविधिहरू ठप्प भएको र साधारण सभा तथा अधिवेशन गर्न सम्म समस्या परेको कुरा हामी सामु छर्लङ्ग रहेको छ । यस्तो असहज परिस्थितिमा महासंघको साधारण सभा र अधिवेशन समेत सम्पन्न गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल प्रेस युनियन केन्द्रीय समिति बिच भएको सहमति अनुसार तत्काल देशभरका सबै शाखाहरूको ताला खोल्ने निर्णय भइसकेको अवस्थामा नेपाल पत्रकार महासंघ रामेछाप शाखाले पनि ताला खोल्नका लागि सार्वजनिक रूपमा गरेको अनुरोध समेतलाई ध्यानमा राखेर नेपाल प्रेस युनियन रामेछाप शाखा आफ्नो केही मागहरू यथावत राख्दै अहिलेलाई ताला खोल्ने निर्णय गर्दछ ।’
युनियनले जारी गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासंघले आफ्ना जायज मागका विषयलाई बेवास्ता गर्ने छैन भन्ने विश्वासका साथ ताला खोलेका उल्लेख गरेको छ । यदि आफ्ना मागहरू महासंघले बेवास्ता गरेमा पुनः आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुने चेतावनी समेत युनियनले उल्लेख गरेको छ ।
महासंघका प्रशासनिक गतिविधि र साधारण सभा गराउन सहयोग पु¥याउन ताला खोलेको जनाउँदै नेपाल प्रेस युनियनले अर्को ताला लगाउने पक्ष र महासंघलाई चाँडै ताला खोलेर महासंघका गतिविधिलाई संचालन गर्न अनुरोध समेत गरेको छ ।
प्रेस चौतारी नेपाल रामेछाप र नेपाल प्रेस युनियन रामेछापले ताला लगाएको भए पनि चौतारीले भने ताला खोलेको छैन ।
नेपाल पत्रकार महासंघले सोमवार एक विज्ञप्ति जारी गर्दै लामो समय देखि लगाएको ताला खोल्न अनुरोध गरेको थियो ।




आफ्नो प्रतिकृया दिनुहोस्