रामेछाप– नेपाली काँग्रेस रामेछाप नगर समितिले टाहार अग्नि पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । चैत्र १ गते आगलागी हुँदा घर जलेर नष्ट भएका १३ परिवारलाई नेपाली काँग्रेस रामेछाप नगर समितिले प्रति परिवार ५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
नेपाली काँग्रेस रामेछाप नगर समितिको बुधवार बसेको बैठकले प्रति परिवार ५ हजारका दरले जम्मा ६५ हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको र सोही अनुसार अग्नि पीडितलाई भेटेर रकम वितरण गरिएको नेपाली काँग्रेस रामेछाप नगरपालिकाका नगर सभापति कमल विक्रम कार्कीले बताए । आगलागीमा परी आफ्नो घर समेत गुमाएर घर विहीन भएका परिवारलाई स्थायी रूपमा घर बनाउन सहयोग पुर्याउने उद्देश्यले नेपाली काँग्रेस रामेछापले आर्थिक सहयोग गरेको सभापति कार्कीको भनाई रहेको छ ।
त्यसै गरी आगलागी पीडितहरूलाई दीप बहादुर कार्की स्मृति प्रतिष्ठान रामेछाप नगरपालिका ७ सुकाजोरले पनि ३९ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । प्रति घरपरिवार ३ हजारका दरले जम्मा ३९ हजार रकम उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष कमल विक्रम कार्कीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्