रामेछाप– नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार राती काठमाण्डौमा हृदयाघातबाट निधन भएको हो । श्रेष्ठ आफैले संचालन गर्दै आएको होटलमा उनलाई मंगलबार राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भए पनि बचाउन नसकिएको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश कुमार श्रेष्ठले बताए । श्रेष्ठको अन्तिम दाहसंस्कार १२ गते बिहीबार पशुपतिमा गरिने प्रदेश सभापति श्रेष्ठले बताए ।
नेपाल विद्यार्थी संघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका श्रेष्ठ दुई पटक नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको सदस्यमा निर्वाचित भएका थिए । नेपाली काँग्रेस रामेछापको १४औँ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका श्रेष्ठ गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाटै खाँडादेवी गाउँपालिका वडा नं ५ मा पनि वडाध्यक्षमा चुनाव लडेका थिए । तर उनी निर्वाचित हुन सकेनन् ।
२०५६/५७ साल देखि नै होटल व्यवसायमा लागेका श्रेष्ठ हाल फास्ट फुड एसोसिएसन नेपालको पुर्व महासचिव एवं हालका सल्लाहकार समेत रहेका थिए ।
श्रेष्ठको परिवारमा श्रीमती, ४ छोरी र एक छोरा छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्