नेपाली जनआन्दोलनको इतिहासमा रामेछापका तीनलाल सहिदहरू गंगालाल श्रेष्ठ, कृष्णलाल अधिकारी र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको योगदान राष्ट्रिय विभूति स्तरको रहेकोमा दुई मतको कुरै भएन । नेपाली जनआन्दोलनको इतिहासमा १३ वर्षको निरन्तर कठोर कारावास झेलेर आजीवन सङ्घर्षरत रहँदै उल्लेखित तीनलालकै जस्तै एउटा इतिहास निर्माण गर्नु भएका अर्का “लाल” मोती लाल श्रेष्ठको म आफू सहोदर नाति हुन पाएको सौभाग्यमा रामेछाप जिल्लावासी हुन पाउनुलाई पनि सौभाग्य नै महसुस गर्ने गरेको छु । उल्लेखित तीनलालको इतिहास कालखण्डमा नियतबाट केही गलत पाठ्यक्रम भइरहेको पाएर सही तथ्य बारे अद्यावधिक गर्न यो लेखमा अग्रसर भएको छु । मेरो पी एच डी शोधको विषय “२००७ सालयताको नेपाली जन–आन्दोलन” रहेको हुँदा केही लेख्ने प्रयास गरेको छु ।
“गद्दार पुष्पलाल” पुस्तक लेखेर निर्दलीय पञ्चायती व्यवस्थाका मतियार भएका कम्युनिस्ट प्रवृत्ति र चरित्र नै हुर्केर बढेर आज छ्याप छ्याप्ती हुन आइपुगेकाहरूले आफ्नो प्रचार सामग्रीमा उल्लेखित “तीन लाल” लाई पनि कम्युनिस्टका धरोहर व्याख्या गर्न थालेकोबाट के हो त तथ्य पाठ्यक्रम बन्नु आवश्यक भएको हो । नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका सहोदर दाजु हुनु भएका नाताले गंगालाल श्रेष्ठलाई कम्युनिस्टहरूले आफ्नो लिगेसी व्याख्या गर्नु सरासर झुटो र धोका बेइमानी हुन जान्छ । धोका र बेइमानीको पाठ्यक्रमले धोका र बेइमानी नै पाइने निश्चित हुन्छ । सबैभन्दा अकाट्य ठोस प्रमाण बि.सं.१९९७ सालमा गंगालाल श्रेष्ठलाई बिष्णुमतीको बगरमा खाँबोमा बाँधेर गोली ठोक्दा कम्युनिस्ट पार्टी भन्ने नेपालमा नामो निशान नै थिएन ।
बि.सं. २००३ सालमा जननायक बी.पी. कोइरालाले टंक प्रसाद आचार्य, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, डिल्ली रमण रेग्मी, मातृकाप्रसाद कोइराला आदिलाई समेटेर खडा गर्नु भएको “नेपाली राष्ट्रिय काँग्रेस” मा कार्यालय सचिव रहनु भएका पुष्पलालले २००६ सालमा आई पुगेर कम्युनिस्ट पार्टीको स्थापना (संस्थापक) गरेपछि मात्र नेपालमा कम्युनिस्ट आन्दोलन प्रवेश गरेको हो । यसरी हेर्दा गंगालाल सहिद हुनुभएको र कम्युनिस्ट पार्टी स्थापना भएको मिति फरक हिसाब गर्दा ९ वर्ष झन्डै १ दशकको अन्तर देखिन्छ । रामेछापका अर्का “लाल” कृष्णलालको त कम्युनिस्ट विचारधारासँग साइनो जोडिनु झनै धेरै टाढा भई हाल्यो ।
सहिद कृष्ण लाल अधिकारी
आधुनिक एकीकरणपछि नेपालमा जन–आन्दोलनको इतिहासमा नवजागरण प्रादुर्भाव हुनुको निम्ति प्रथम सहिद लखन थापा, सन्त ज्ञान दिलदाश र सन्त शशीधर मरासिनी पछि अग्रस्थानमा आउने नाम साहित्यिक सहिद कृष्णलाल अधिकारीको हो । उहाँको जन्म बि.सं. १९४४ माघ १४ गते पूर्व २ नम्बर रामेछाप जिल्लाको कठजोरमा भएको थियो । उहाँका पिता लक्ष्मण अधिकारीको वैदिक कर्मिष्ठ गृहस्थी ब्राह्मण हुनुहुन्थ्यो । माता इन्द्रकुमारी ब्राह्मण परिवारकी आदर्श गृहस्थी नारी आध्यात्मिक भावनाले करुणामयी स्वभावकी हुनुहुन्थ्यो । यसरी उहाँको जन्म एक सांस्कृतिक परिवारमा भएको थियो । वैदिक साहित्य अध्येता उहाँका पिता लक्ष्मण अधिकारीले छोरालाई पढाउनुपर्छ भनेर शिक्षा दिक्षाको राम्रो व्यवस्था मिलाएका थिए । नेपाली नवजागरण इतिहासमा वर्णन आए अनुसार ख्याति प्राप्त साहित्यकार आशुकवि शम्भुप्रसाद ढुङ्गेल, सोमनाथ सिग्देल, साम्वभक्त सुवेदी उहाँका सहपाठी साथी थिए । कृष्णलालको जागिरे जीवन काठमहल अड्डामा नौसिन्दाबाट प्रारम्भ भएर योग्यता र इमानदारिताले बिन्तिपत्र निक्सारी र देवानी तेस्रा फाँटमा हाकिम डिट्ठा भई एक वर्ष जति भारदारी अड्डामा काम गर्नुभयो । त्यसपछि उहाँ त्यस बखत जनताको छोराले पाउने सबैभन्दा ठुलो पद सुब्बामा बढुवा हुनुभयो । उहाँको त्यसरी पदोन्नति भएकोमा सहपाठी समेत रहेका भोजराज काफ्ले रामहरि अधिकारी लगायतका सँगै जागिरमा प्रवेश गरेकाहरूलाई डाहा भई चन्द्रशमशेरलाई झुटो चुक्ली लगाई जेल हालियो । उचित भोजन र उपचारको अभावमा जेलमै मृत्यु (सहिद) भए । बि. सं. १९७९ सालमा उहाँको मृत्यु भएको त्यो कालखण्डमा नेपालको मुख्य आर्थिक क्षेत्र कृषि प्रणाली थियो । त्यो आत्मनिर्भर अर्थतन्त्र पनि नेपालको कृषि प्रणालीको एक महत्त्वपूर्ण खाद्यान्नमा मकै आउँछ । त्यसैलाई ध्यानमा राखेर अधिकारीले मकैको खेती कसरी गर्ने एउटा प्राविधिक शैलीको पुस्तक लेख्नु भएको थियो । त्यो पुस्तकमा मकैमा लाग्ने “रातो टाउको” र “कालो टाउको” गरेका दुई किराको उल्लेख थियो । साथै मकै बारी रुङन बेलायती कुकुर भन्दा “भोटे कुकुर” धेरै काम लाग्ने हुन्छन् पनि पुस्तकमा उल्लेख थियो । भोजराज काफ्ले जस्ता उहाँको पदोन्नतिबाट डाही भएकोले राजद्रोहको अर्थ लगाएर श्री ३ चन्द्र शमशेरको कान फुकिदिए । त्यतिखेर चन्द्रशमशेरले रातो टोपी र धीर समशेर (चन्द्रशमशेरको बाउ) कालो टोपी लगाउँथे । त्यसैले यसलाई रातो किरा चन्द्रशमशेरलाई कालो किरा धीर शमशेरलाई र बेलायती कुकुर भनेको बेलायतको समर्थनमा सत्ता चलाएको भनेको हो भन्ने अर्थ लगाई दिए । हजार प्रति छापिएको पुस्तक तुरुन्त जफत गरियो । १ हजार प्रति छापिएकोमा ९९९ प्रति जफत भयो । १ प्रति नभेटिएको कुभंग्रो षड्यन्त्र जोडेर नेपाली प्रा.डा. हरुले पाठ्यक्रम नै बनाइसकेका हुँदा यहाँ थप वर्णन आवश्यक परेन । तर, हाम्रा प्राध्यापक डाक्टरहरूको दृष्टि नपुगेको एउटा तथ्य वास्तवमा पाठ्यक्रम बनाउनुपर्ने धेरै महत्त्वपूर्ण छ । पाठ्यक्रम निर्धारक लेखक हुने प्राध्यापक डाक्टरहरूलाई ध्यानमा राखेर त्यो कुरो यहाँ अभिलेख गर्न चाहन्छु । त्यो के भने सुब्बा कृष्णलाल अधिकारी नेपाली अहिले आएर जनआन्दोलनको इतिहासमा उहाँको जन्म वि .सं १९७९ बाट (मकै खेती किताब मार्फत) अहिले विसं २०८० सम्म हिसाब गर्दा १०१ वर्ष सम्म सान्दर्भिक पाठ्यक्रम बनी रहन सक्नु उहाँ कति दूरदर्शिता हुनुहुन्थ्यो छर्लङ्ग हुन्छ । त्यतिखेर उहाँले राणा सत्ताको किरा र कुकुर भनेर जुन चरित्र वर्णन गर्नु भएको थियो आजका मितिसम्म ठ्याक्कै अक्षरसं नै चरितार्थ देखिन्छ । अहिलेसम्म पनि हाम्रो राज्यसत्ताको चरित्र आम जनताका लागि दलहरू र तिनका टाउके नेताहरू रातो टाउके कालो टाउके किरा जस्ता नै रोग केवल सत्ताको गिद्धको सिनो लुछ्याइँ भइरहेको छ । सहिद कृष्णलाल अधिकारीले बेलायती कुकुर लेख्नुभएकोमा अहिले आएर पश्चिमका कुकुर लेख्दा भावार्थ अक्षरस चरितार्थ भइरहेको पाइन्छ । अमेरिकासँग एम सि सि पास गर्दा अमेरिकाको तर्फबाट कम्पनीका दोस्रो तहका कर्मचारी जोनाथन (एम सि सि प्रमुख नातिनातिना नेपाल आउदा उनको सहयोगीका रूपमा नेपाल आएका थिए) स्तरले र नेपालका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की (अर्थमन्त्री स्तर) ले हस्ताक्षर गरेका थिए । राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता माथिको योभन्दा अपमान अवमूल्यन बेइज्जती र अवगालअरु के हुनसक्छ ? आजको यस्तो कुरो आजभन्दा १०१ वर्ष पहिले नै मनीषी पुरुष सहिद कृष्णलाल अधिकारीले देखि सक्नु भएको रहेछ भनेपछि उहाँ कति धेरै दूरदर्शिता क्रान्तिकारी हुनुहुँदो रहेछ भन्ने छर्लङ्ग हुन्छ तर, हाम्रो कलेज विश्वविद्यालय कतै पनि दूरदर्शिता बारे उल्लेख गरेको पाठ्यक्रम भेटिँदैन । पी.एच.डी. तयारीमा लाग्न खोज्दा मकैको खेती पुस्तक १००० प्रति छापिएको ९९९ प्रति जलाइएको १ प्रति नभेटिएको आदि कुराहरू त पाठ्यक्रममा अवश्य भेटिन्छन् । तर उहाँको यस खालको दूरदर्शिता र कालजयीता विषयमा भने कतै पनि कुनै प्रा.डा. हरुले कलम चलाएको पाइएन, पाइँदैन । रामेछाप जिल्लाका श्री प्रातस्मरणीय मनीषी पुरुष सहिद कृष्णलाल अधिकारी बारेको यति कुरा राख्न एम सी सी को अलिकति कुरा कोट्याएको आवश्यक भएर हो ।
कमरेड पुष्पलाल श्रेष्ठ
माथि उल्लेखित वर्णन अनुसार हेर्दा बहुराष्ट्रिय कम्पनीका झोले दलाल भएका कम्युनिस्ट भाइहरूले रामेछापका तीनलाल मध्ये शहीद गंगालाल र सहिद कृष्णलाललाई पनि कम्युनिस्ट हाम्रा लिगेसी प्रसार गर्नु त्यो सरासर जनताको आँखामा छारो हालेर जनतामारा लुटतन्त्र मनपरी तन्त्र धन्दा भन्ने यसै छर्लङ्ग छ । थप कुरा वर्णन गरिरहनु आवश्यक परेन । रामेछाप मै वि .सं. १९७५ मा पिता भक्तलाल श्रेष्ठ र माता तुलसी माया श्रेष्ठका काखमा भँगेरीमा जन्मनु भएका तीनलाल मध्येका अर्का एक लाल कमरेड पुष्पलाल श्रेष्ठ हुनुहुन्छ । नेपालमा कम्युनिस्ट पार्टी उहाँले नै सुरु गर्नु भएको हो । वि.सं.२००६ सालमा रामेछापका हाम्रा लाल पुष्पलालले नै नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेका र “गद्दार पुष्पलाल” लेखेर चर्चित भएका मोहन विक्रमसिंह हरू नै (आदि÷इत्यादि) आजका मितिका सत्ता प्रतिपक्ष कम्युनिस्ट भएका सर्वत्र पाठ्यक्रम छर्लङ्गै छँदै छ । तर नेपालमा कम्युनिस्ट पार्टी (पुष्पलाल) जन्माउने नेपाली काँग्रेस नै हो भन्ने पाठ्यक्रम भने मैले कतै पनि लेखन भएको पाएको छैन । यसबाट हाम्रो पुस्ता लगायत भविष्यको पुस्तासमेत इतिहासको सही ज्ञान चेतनाबाट विमुख हुनुपरेको र हुने स्थिति देखिएको छ । इतिहास भनेको समाज, देश प्रणालीलाई अगाडी बढाउन बाटो देखाउने प्रकाश हो । त्यसो हुँदा इतिहासको गलत अध्ययन भयो सही तथ्य इतिहासको अध्ययन पाठ्यक्रम भएन भने चेतनाले सही बाटो पहिल्याउन सक्दैन । अन्धकारमा छामछाम–छुमछुम गरेर हिँड्दा खाल्टोमा परेको जस्तो मात्र हुन्छ । जस्तो हाम्रो मुलुक आज इतिहासको सही ज्ञान लिएर हिँड्न नसक्दा खाल्टोमा परेको जस्तो देख्नु र भोग्नु परिरहेको छ ।
नेपाली काँग्रेसले कम्युनिस्ट जन्माएको इतिहास के हो भने नेपाली काँग्रेसका संस्थापक जननायक विश्वेश्वरप्रसाद कोइराला वि.सं.२००४ सालमा जेल पर्नु भएपछि कार्यवाहक सभापतिका रूपमा डिल्लीरमण रेग्मी लाई बनाइएको थियो । त्यो समय नेपाली काँग्रेसको महामन्त्री कृष्ण प्रसाद भट्टराई हुनुहुन्थ्यो भने कार्यालय सचिवमा पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो । गणेशमानजी श्रेष्ठका सहयात्री भएका नाताले पुष्पलालले उहाँलाई असाध्यै नै मान्नुहुन्थ्यो । त्यस बखत गणेशमान कुनै एजुकेटिस नरहेर केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । यसरी हेर्दा काँग्रेस स्थापनाको कार्यकारी नेतृत्वमा गणेशमानजी भन्दा कृष्णप्रसाद भट्टराई अगाडि देखिनुहुन्छ । वि.पी.जेलबाट छुटेर आएपछि डिल्लीरमण रेग्मीले वीपीलाई कार्यकारी सभापति पद फिर्ता गर्न मानेनन् । तथ्यमा त्यो डिल्लीरमण रेग्मीको ज्यादतीपूर्ण सोच थियो । परिणाम वि.पी.र डिल्लीरमणमा घर्षण प्रारम्भ भयो । त्यो घर्षणबाट पुष्पलाल प्रसववेदनामा छटपटिएर “नेपाल कम्युनिस्ट पार्टी” लाई जन्माए ।
यसरी नेपाली काँग्रेस कम्युनिस्ट पार्टीलाई जन्माउन मात्र स्खलित भएको हैन, यसलाई हुर्काउन बढाउन पालित पोषित गर्नमा पनि काङ्ग्रेसकै प्रमुख हात छ । वि.सं. २०४६ सालको जनआन्दोलनसम्म १२/१५ झोलामा सीमित नेपालका कम्युनिस्टहरू जनमतसंग्रहमा निर्दलको पहेँलोमा भोट हालेका कारण रुसपन्थी, चीनपन्थी भनेर माथिमाथि मिडियामा मात्र सीमित थियो । गद्दार पुष्पलाल लेख्ने मोहनविक्रम सिंह, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धर, केशरजङ्ग रायमाझी आदि केही सामन्ती टाइपका नेताहरूका खल्तीमा र झोलामा मात्र सीमित थियो । गणेशमानजीले ऋषिकेश शाहलाई अह्राएर रामेछापका एकलाल पुष्पलालकी धर्मपत्नी साहाना प्रधानलाई नेतृत्व बनाएर काङ्ग्रेससँगै संयुक्त मोर्चा आन्दोलनमा साथमा नबोकी दिनुभएको भए आज पनि कम्युनिस्ट को हालत कतै कतै कमरेड नारायणमान बिजुक्छेको पार्टी “मजदुर किसान पार्टी” देखिने जस्तो भए पनि मदन भण्डारी जस्ताहरूको उदय हुन त कुनै पनि हालतमा सम्भावना (वातावरण) हुँदैन थियो । इतिहास अध्येताका दृष्टिले यो कुरो किटेर भन्न सक्छु म ।
“यसरी हेर्दा पुष्पलाललाई बिपीले जन्माउनु भएजस्तै मदन भण्डारीलाई गणेशमानजीले जन्माउनु भएको देखिन्छ । प्रचण्डलाई चाहिँ गिरिजाप्रसाद कोइरालाले जन्माएर हुर्काएका हुन ।”
रामेछापका ३ लालका विषयमा योभन्दा बढी वर्णन ल्याउन यस खालको लेखन टिप्पणीमा सम्भव हुन्न । नेपाली जन आन्दोलनको इतिहास समेत जोडेर एउटा छुट्टै पुस्तक लेख्नुपर्ने हुन्छ र त्यसको तयारी म आफै छु । यथासमय अवश्य प्रकाशमा ल्याउन सफल हुनेछ भन्ने विश्वास लिएको छु । नेपाली जनआन्दोलन इतिहासका यत्रा शिखर विभूति सरहका रामेछापका तीन (३) लालका विषयमा यति कुरा ल्याइसकेपछि आज उहाँहरूका सपनाहरू कुन स्तरसम्म चकनाचुर भएर नेपाल आमालाई धराशायी अवस्थामा पुर्याएर राष्ट्रघात र जनघात भइरहेको छ भन्ने सन्दर्भमा पनि अलि कति चर्चा आवश्यक हुन जान्छ ।
तर त्यो सबै विवरण महाभारत भइसकेको हुनले यहाँ राख्न मिल्दैन । सुत्रमा एक दुई कुरा गर्न चाहँदा राजनीतिशास्त्रको एउटा परिभाषाबाट बुझ्ने प्रयास गर्छु । त्यो परिभाषा भनेको प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो “लास” । लासको प्रकृति समयमै अन्त्येष्टि भएन भने त्यो कुहुन्छ, गनाउँछ र रोग फैलाउन थाल्दछ । अहिले हाम्रो मुलुक २०४६ साल र खास गरी नेपालले नचाहेको र नेपालीलाई नचाहिने धर्मनिरपेक्षता सङ्घीयता लादिएको संविधान जारी भए यताका दलहरू विचार हराएर लास भएर हुर्किएर गनाएर रोग फैलाउने चरणमा पुगेका छन् । जबसम्म रोग फैलाउने चरणमा पुगेका दलहरूको सोच अन्त्य भने अपरेसन हुन्न तबसम्म पिटिक्क रौँ जति पनि राष्ट्रले, प्रणालीले, विकासले गति लिने भन्ने कुरा सम्भव हुन्न । सुत्र मै भन्नु पर्दा प्रेम प्रसाद आचार्य जस्ता आत्मा दाही क्रान्तिकारी र रबि लामिछाने जस्ता अनागरिक तुल्याइएका विद्रोही उदाउन थालेबाट चाडै नै कोरोनाभन्दा पनि खतरनाक रोग भएका दलहरू र तिनका “रातो टाउके” “कालोटाउके” ठालु नेताहरूबाट मुक्त भइने उपचार शल्यक्रिया अवश्य हुने छ भन्ने आशा राखौँ !!! “अस्तु”
आफ्नो प्रतिकृया दिनुहोस्