आजको आलेख एउटा प्रश्न बाटै सुरु गर्न चाहन्छु । हाम्रो देश समृद्धि नहुनुमा व्यवस्थाको ठुलो दोष हो कि ? व्यवस्थापन र पात्रहरूको दोष ठुलो हो ? यो सवालको बहस यो समयमा केन्द्रीय बहसको रूपमा आउनु पर्नेछ । हामीले साढे सात दशकको राजनीतिक परिवर्तनलाई हेर्याै भोग्यौ । २००७ साल पछिका परिवर्तित व्यवस्थाहरूलाई पनि नजिक बाट नियाल्यौ । तीस बर्षे निरंकुश पंचायत, २०४६ सालको प्रजातन्त्रको पुनः स्थापना । अग्रगमन र प्रतिगमनको आरोह–अवरोहहरू । प्रजातन्त्र स्थापना पछि पनि पटक पटक भएका प्रतिगमनका असफल प्रयासहरू । दश बर्षे सशस्त्र द्वन्द्व, २०६०÷२०६१ को राजाको शाही दमन । २०६२÷६३ को दोस्रो जनआन्दोलन र २०७२ सालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान सम्मको चरण बद्ध राजनीतिक परिवर्तनलाई भोग्यौ । २०७२ को नयाँ संविधान पश्चात् पनि एक दशक गुमाउन लागि सक्यौं। अब सवाल र प्रश्न उठ्छ यति लामो चरणबद्ध परिबर्तन पश्चात् पनि देश चाहिँ किन माथि उठ्न सकेन ? देश किन बन्न सकेन ? यसको बाधक के हो ? व्यवस्था कि ? पात्रहरू ?
एक समय थियो, जति बेला जनताको मुक्ति र देशको समृद्धिका खातिर आधुनिक नेपालको निर्माणका लागि आम जनताको भरोसा र देशको हितमा निरंकुश शासकहरूसँग लड्न हिम्मत राख्ने, राज्य शक्ति र पदीय प्रलोभन नपरी आफ्नो शिर नझुकाउने बिपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारीहरू जसले प्रजातन्त्र लोकतन्त्र र सामाजिक न्यायका खातिर निर्भीकता र निष्ठाका साथ लडे । ती नेतृत्वहरूमा व्यक्तिगत स्वार्थ भन्दा माथि देशको स्वार्थ बढी थियो । तत्कालीन समयमा ती नेतृत्वहरूमा आलोचनात्मक चेत सहित बुलन्द आवाजले देशका सम्पूर्ण युवाहरूलाई जहानियाँ शासनको विरुद्ध लड्न उत्प्रेरित गराउँथ्यो । जसमा व्यक्तिगत लोभ र हित भन्दा देशको हित सर्वोपरि हुन्थ्यो । ती नेतृत्वहरूमा वैचारिक अडान, सत्य निष्ठा, त्याग, समर्पण र धर्यताले सुशोभित थिए । जसको बलमा आफूलाई इतिहाँसको पानामा अमिट रूपमा लेखाउन सफल भए । तिनै महात्माहरूले देखेको सपना, परिवर्तनको भोग र देशको परिवर्तनको परिकल्पनालाई यति लामो व्यवस्था परिवर्तनको लामो यात्राले पनि अपेक्षाकृत सुधार अहिलेसम्म पनि किन दिन सकेन ? किन पूरा भएन ? हुन सकेन ? व्यवस्था परिवर्तनले मात्र अवस्था परिवर्तन नहुँदो रहेछ भन्ने प्रश्नहरू जन्मिनु अहिले स्वाभाविक जस्तो भएको छ । हामी कहाँ चुक्यौ होला त ? नागरिकले व्यवस्था प्रति खोट देखेका थिए । व्यवस्था परिवर्तन गर्न सङ्घर्ष गरे ।
नागरिक कै बलिदानमा पटक पटक व्यवस्थाहरू पनि परिवर्तन भयो । तर देशले समृद्धि हासिल गर्ने कुरा अझै ज्युँका त्युँ नै रहनुको कारण के हुन सक्छ ? व्यवस्था परिवर्तनको यो लामो यात्राले अपेक्षाकृत समृद्धि र सुशासन ल्याउन नसकेको कुरा नेपालको सन्दर्भमा धरातलीय यथार्थ हो । यो सत्यलाई नकारेर नकार्न सकिँदैन । २०७२ सालको नयाँ संविधानले मार्ग निर्देश गरेको मूल समावेशिता, समानता र सामाजिक न्याय मूलधारमा स्थापित त भए तर समृद्धि र सुशासन भने किन हुन सकेन ? यसको सगोल जवाफ अहिले हामीले प्रणाली र व्यवस्था भन्दा राजनीति पात्रहरू सँग खोज्नु पर्ने अवस्था आएको छ । मुख्य कुरा राजनीतिक पात्रहरूमा देखिएको राज्यसत्ता प्रतिको लोभ, बिचारको स्खलनता, नैतिक पतनता, वैचारिक असक्षमता, भ्रष्ट चरित्र, पदलोलुपता र मूल्यहीनता नै राजनीतिक पात्रहरूमा चुलिँदै गइरहेको समस्या हो । यसको कारण नै देशको प्रगति नहुनु मुख्य बाधक हो । आचरण, भाषण, बिचार, एजेण्डा, घोषणा पत्र, प्रतिबद्धताहरूमा मूल नेतृत्वहरू नै आज गुमाइरहेका छन् । समाज रूपान्तरण लागि चाहिने वास्तविक बिचार र एजेन्डाहरु खडेरी पर्दै गइरहेको छ । आचरणको शुद्धतामा कमजोरी, तुच्छ बिचारको सम्प्रेषणीयता, अनैतिक प्रहार, घृणा फैलाउने वाकयुद्धमा अहिलेका नेतृत्वहरू तल्लीन देखिन्छ । देशलाई डो¥याउने बिचार र आशाबादिता भन्दा भाषणमा कि हाँसो कि गाली सुनिन्छ । आफू र आफ्नो बिचार मात्र ठुलो हो देखाउन अरूलाई होच्याउने राजनीतिक संस्कृतिको विकास भइरहेको छ । अरु भन्दा हाम्रो धर्म, हाम्रो जात, वर्ण र छालाको रंग श्रेष्ठता हो भन्ने भावनाको विकास हुनु झन् देशको लागि बृहत्तर घातक हो । धर्म, जाती, क्षेत्रीयताको नाममा विभक्त राजनीति भइरहेका छन् । देशमा धर्मको राजनीतिले कति अशान्त बनाइरहन्छ भन्ने उदाहरण छिमेकी मुलुक भारत र पाकिस्तान, इजरायल र प्यालेस्टाइनलाई हेरे पुग्छ । भ्रष्टाचारीहरू एउटा सिङ्गो पुस्ताका लागि र समृद्धिका लागि बाधक त हुन्छन् नै । तर केन्द्रीकृत एकल राज्यको वकालत गर्दै धर्मको राजनीति गर्नेहरू वर्तमान एक पुस्तालाई मात्रै उद्वेलित बनाउँदैन ? देशको समग्र भविष्य माथि नै खेलबाड गरिरहेका हुन्छन्।अब मूल प्रश्न तिरै आऊ देश समृद्धि नहुनुमा व्यवस्था दोषी कि ? व्यवस्थापन र पात्रहरू ? नेपालको सन्दर्भमा वैचारिक र राजनीतिक रूपमा सङ्कटग्रस्त हुनुमा अब समस्या व्यवस्था भन्दा व्यक्ति र पात्रहरूमा देखिँदै गइरहेको छ । यसको मूल प्रश्नको जवाफ हाम्रो जस्तो देशमा अहिले व्यवस्था बाधक भन्दा व्यक्ति र पात्र सँग सम्बन्धित हुँदै गइरहेको छ । त्यो सत्यता अब लुकाएर लुकाउन सकिँदैन ।
२०८१ असोज ६ गतेको प्रहार खबर साप्ताहिक पत्रिकामा प्रकाशित
समसामयिक विषयमा कलम चलाउने नवीन गाउँले प्रहार खबर साप्ताहिकको नियमित स्तम्भकार हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्