

रामेछाप– रामेछाप नगरपालिका वडा नं ५ रामपुरले वडा भित्र रहेका विद्यालयको सहभागिता विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय बाल दिवस २०८० मनाएको छ । शुक्रवार आयोजित कार्यक्रममा अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सहित गएको शैक्षिक सत्रमा वडा भित्रको विद्यालयबाट एसइई परीक्षा र कक्षा १२ को परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने विद्यालाई सम्मान गर्दै बाल दिवस मनाएको हो ।




विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप अन्तरगत हाजिर जबाफ प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, हस्तलेखन प्रतियोगिता, म्युजिकल चेस रेस प्रतियोगिता र भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गराइएको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले बताए ।
कार्यक्रममा वडामा सञ्चालित विद्यालयबाट गएको शैक्षिक सत्रमा कक्षा १२ को परीक्षामा सहभागी भइ उत्कष्ट अंक प्राप्त गर्ने १० जना र एसइई परीक्षामा सहभागी भई उत्कृष्ट अङ्क प्राप्त गर्ने ७ जना विद्यार्थीलाई नगद पुरस्कार सहित प्रशंसा पत्र दिएर सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यस्तै प्रदेश स्तरको खेलमा रामेछाप नगरपालिका वडा नं ५ रामपुरबाट सहभागी भएका ६ जना खेलाडीलाई पनि नगद पुरस्कार सहित प्रशंसा पत्रले सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रममा वडाका ७ विद्यालयमा कार्यरत शिक्षक मध्येबाट प्रत्येक विद्यालयबाट एक जना पर्ने गरी उत्कृष्ट शिक्षक र जनता माविमा कार्यरत विद्यालय कर्मचारीललाई सम्मान गरिएको छ ।
वडाका विद्यालयमा कार्यरत विद्यालयको निजी श्रोत, स्थानीय तह, प्रदेश र सङ्घीय अनुदान कोटामा काम गरिरहेका अस्थायी ११ जना शिक्षकलाई पोषक भत्ता उपलब्ध गराइएको वडाध्यक्ष श्रेष्ठले बताए ।
रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यता तथा रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडामा ७ विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रामेछाप नगरपालिकालाई चाँडै बालमैत्री नगर घोषणा गरिने कार्यक्रम रहेकाले त्यसलाई सफल बनाउन यस्ता कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नगर प्रमुख न्यौपानेले नगर भित्रको शैक्षिक सुधारको लागि नगरपालिकाको सिङ्गो टिम लागेर काम गरिरहेको बताएका छन् । नगर प्रमुख न्यौपानेले नगरको शिक्षालाई गुणस्तरीय शिक्षा बनाउनको लागि सबै भन्दा मुख्य अभिभावक हुने भएकाले नगरले अगाडि सारेका योजनामा अभिभावकले साथ दिनु पर्नेमा जोड दिए । अहिले नगरको शिक्षालाई गुणस्तरीय शिक्षामा परिणत गर्ने विभिन्न अभियान चलाइएको पनि नगर प्रमुख न्यौपानेले बताए ।
कार्यक्रममा वडाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, वडा भित्र रहेको ७ वटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका वडाध्यक्षहरु, प्रधानाध्यापकहरू, शिक्षक, विद्यार्थी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।




आफ्नो प्रतिकृया दिनुहोस्