



रामेछाप- गोकुलगंगा गाउँपालिकाको वडा नं २ ठोसेको एक विद्यालयलाई स्थानीय ललित बहादुर कार्कीले निःशुल्क जग्गा दान गरेका छन् । ९२ वर्षका कार्कीले आफ्नै वडामा रहेको जलकाली ललित आधारभूत विद्यालयलाई साढे दुई रोपनी जग्गा निःशुल्क दान गरेका हुन् ।



२०७२ सालको विनासकारी भूकम्पले विद्यालयका भवनहरु पुर्ण रुपमा ध्वस्ता हुनुको साथै विद्यालय रहेको जग्गा समेत फुटेर चिराचिरा परेर प्राविधिक रुपमा उक्त ठाउँमा कुनै पनि भौतिक संरचना निर्माण गर्न नमिल्ने भएपछि विद्यालय नजिकै रहेको जग्गा कार्कीले निःशुल्क दिएका थिए ।

कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा कार्कीले जग्गा दिएपछि ११ कोठे भवन निर्माण भएर पनि अहिले सहज रुपमा पठनपाठन समेत भइरहेको छ ।
विद्यालयलाई निःशुल्क जग्गा दान गर्ने कार्कीलाई विद्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले ज्ञान बाँढ्ने जस्तो पवित्र ठाउँलाई निःशुल्क जग्गा दान गर्ने व्यक्तिलाई सधैँभरी सम्मान हुनु पर्ने बताए । उनले गोकुलगंगा गाउँपालिकालाई गुणस्तरीय शिक्षामा अगाडि बढाउनको लागि ललित बहादुर कार्कीले जस्तै सबै गोकुलगंगावासीले निस्वार्थ मनले सहयोग गर्नु पर्नेमा जोड दिए ।
आफू एउटा पार्टीको तर्फबाट निर्वाचित भएर आएको भएपनि जनप्रतिनिधि भएपछि आफू कुनै पार्टीको मान्छे नभइ साझा मान्छे भएकाले जनताका समस्यामा साझा भएर काम गर्ने प्रतिवद्धता जनाउँदै गाउँमा भएका समस्याहरुलाई जनप्रतिनिधिको कान सम्म ल्याउन अनुरोध गरे ।
अध्यक्ष खड्काले समाजमा देखिएका सामाजिक समस्या देखि विकास निर्माणमा देखिएका समस्याहरुको बारेमा जानकारी हुने जोसुकै व्यक्तिले पनि त्यसलाई खै त काम भएको ?, भनेर प्रश्न गर्नु भन्दा पनि काम गर्ने ठाउँमा जानकारी गराएर सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
राजनीतिकरणले गाउँको विकास नहुने भन्दै गाउँको समग्र विकासमा पालिका भित्र रहेका सबै राजनीतिक दल, स्थानीय नागरिक र जनप्रतिनिधि एक भएर लाग्दा दिर्घकालिन विकास हुने हुँदा सबै एक भएर लाग्नु पर्ने धारणा राखे ।
जलकाली ललित आधारभूत विद्यालय व्यवस्थाप समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उषादेवी कार्की, वडा नं २ ठोसेका वडाध्यक्ष सुन्दर कार्की लगायतले भनाई राखेका थिए ।





आफ्नो प्रतिकृया दिनुहोस्