
रामेछाप- २५ वर्ष अघि मन्थलीमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब माथि पुगेको छ । शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न २५ औँ साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार २५ वर्ष अघि स्थापना भएको मन्थली बचतको कुल सम्पत्ति १ अर्ब ६ करोड ८४ लाख ७९ हजार ७ सय ६३ रुपैयाँ पुगेको छ ।




संस्थाका कोषाध्यक्ष टीका प्रसाद भट्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा ६६ लाख ७५ हजार १ सय ५२ रुपैयाँ खुद नाफा उल्लेख छ । त्यसैगरी कोषाध्यक्ष भट्टले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको शेयर पूँजी ९ करोड ४५ लाख ९० हजार ४ सय रुपैयाँ, बचत संकलन ८५ करोड ३५ लाख ४५ लाख २ सय ७४ रुपैयाँ र ऋण लगानी ६६ करोड २९ लाख २५ हजार ९ सय ७६ रुपैयाँ उल्लेख छ ।
साधारणसभाका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले आफ्नो भनाई राख्ने क्रममा २५ वर्ष अघि सामान्य अवस्थाबाट सुरु भएको सहकारीले अर्व भन्दा माथिको कारोबार गर्नु ख्याल–ख्याल नभएको बताउँदै आगामी वर्षहरुमा सहकारीले शेयर सदस्यहरुको जिविको पार्जनमा प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । सहकारीको काम बचत उठाउने र ऋण लगानी गर्ने मात्रै नभएकाले जिल्लामा संचालित सबै सहकारीलाई बढी जसो लगानी उत्पादन मुलक क्षेत्रमा लगाउन अनुरोध गरे ।
मन्थली बचतका अध्यक्ष गोविन्द घिमिरेले मन्थली बचत स्थापना गर्दा नै बचत उठाउने र ऋण प्रवाह गर्ने मात्रै नभएर सामाजिक सेवाको समेत भावना राखेर स्थापना गरिएकाले सहकारी मार्फत धेरै सामाजिक कामहरु भएको बताउँदै आगामी दिनमा सहकारीले थप सामाजिक कामहरु गर्दै जाने धारणा राखे । उनले मन्थली बचतले तामाकोशी सेवा समिति र तामाकोशी अस्पताल मार्फत सहकारीका शेयर सदस्यहरुको सामाजिक काम र स्वास्थ्य सेवाका धेरै काम गरीरहेको बताएका छन् ।
मन्थली नगरपालिकाको १४ वटै वडा, रामेछाप नगरपालिकाका ६, ७, ८ र ९, खाँडादेवी गाउँपालिकाका ४ र ५, लिखु तामाकोशि गाउँपालिकाका ३, ४, ५ र ७ सम्म कार्यक्षेत्र रहेको मन्थली बचतले मन्थली, रामेछाप, धोवि, गेलु, चिसापानी, पकरबास र चिसापानी गरि कुल ७ वटा क्षेत्रमा पुगेर त्यहाँका शेयर सदस्यहरुलाई सहभागि गराएर साधारणसभा गर्दै शनिबार मन्थलीमा सम्पन्न गरिएको संस्थाका सचिव हिमाल ढुंगेलले बताए ।

कार्यक्रममा मन्थली बचत तथा ऋण सहकारी संस्थामा उत्कृष्ट बचत र ऋणको कारोवार गने, बाल बचत गर्ने र फरक क्षमता भएका (अपाङ्ग) सदस्यलाई पुरस्कार तथा सम्मान गरीएको थियो । संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी कमलबहादुर तामाङ र सहकारी अभियानलाई संचार माध्यमबाट नागरिकको तह सम्म पु¥याउने कार्यमा उत्कृष्ट कार्य गरे बापत पत्रकार रमेश ढुंगेललाई सम्मान सहित पुरस्कार प्रदान गरीएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ध्रु्वप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल, तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्जवहादुर श्रेष्ठ, संचालकहरु नविन केसी र लक्ष्मी बुढाथोकी कार्कीले पनि आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द घिमिरेले संस्थाको २५ वर्षे यात्रा, सचिव हिमाल ढुंगेलले संस्थाको गत वर्षको क्रियाकलाप र आगामी वर्ष गरिने कार्यक्रम, कोषाध्यक्ष टीका प्रसाद भट्टले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।



आफ्नो प्रतिकृया दिनुहोस्