रामेछाप- नेकपा एमाले बागमती प्रदेश सदस्य प्रेम बहादुर तामाङ एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश भएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्ष समेत रहेका तामाङले शनिबार प्रेस वक्तब्य जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमाले परित्याग घोषणा गरेका तामाङले नेकपा एकीकृत समाजवादीमा समाहित भएको समेत उल्लेख गरेका छन् ।
आफू तीन दशक देखि नेकपा एमालेमा संगठित भई र कम्युनिष्ट आन्दोलनमा क्रियाशिल रहेर काम गर्दा गर्दै पनि मूल नेतृत्वमा चरम व्यक्तिवादी स्वेच्छाचारिता, गुटगत सङ्कीर्ण मानसिकता, अदूरदर्शी र अपारदर्शी क्रियाकलाप, सर्वसत्तावादी सोच, अधिनायकवादी कार्यशैली, कोठे राजनीति, षडयन्त्रकारी आचरण जस्ता गतिविधि बढ्दै गएपछि त्यस्तो पार्टीमा बस्नु उपयुक्त नदेखेर विचार मिल्ने नेकपा एससँमा समाहित भएको प्रेस वक्तव्यमा उल्लेख छ ।
आफू नेकपा एमालेबाट पालिकामा निर्वाचित भएर प्रदेशमा प्रथम र देशैभरीमा उत्तम श्रेणी र परिणाममुखी काम र जभैत्री सुशासनबाट अन्य दल मात्रै नभइ नेकपा एमालेका अग्रज भनिनेनै आत्तिएको, इष्र्यालु बनेको र बेलाबखत आफ्नो अभियानमा तगारो बन्ने काम समेत भएको वक्तव्यमा उल्लेख छ ।
उनिसँगै खाँडादेवी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य असल सिं तामाङ, खाँडादेवी गाउँ कमिटी सचिव मोतिलाल तामाङ, खाँडादेवी गाउँपालिका वडा नं ७ का सचिव धनराज तामाङ, खेलकुद महासंघका रुपसिंह मोक्तान लगायतले नेकपा एमाले परित्याग गरेका छन् ।
एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका तामाङलाई नेकपा एसले अध्यक्षको उम्मेद्वार बनाउने संकेत देखाएको छ । उता नेकपा एमालेले अध्यक्षको लागि यस अघि नै अर्कै व्यक्तिको नाम सिफारिस गरीसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्