रामेछाप- मन्थली नगरपालिकाको केन्द्र समेत रहेको मन्थली बजारको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चैत्र १ गते देखि केही नयाँ नियमहरु लागु हुने भएको छ । सोमवार सरोकारवालाहरु सहितको बैठक बसेर मन्थली नगरपालिका र जिल्ला ट्राफिक कार्यालय रामेछापको सहकार्यमा मन्थलीको मूख्य बजार केन्द्रको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने गरी नयाँ नियमहरु लागु गर्ने मन्थली नगरपालिकाले बताएको छ ।
रामेछापमा प्रहरी प्रमुख र ट्राफिक प्रमुख नयाँ आए संगै सरोकारवाला हरुले दिएको सुझाब र बजार क्षेत्रका सडका देखिएका समस्याका आधारमा ट्राफिक ब्यवस्थापनलाई थप व्यबस्थित वनाउने उपाएका बारेमा छलफल गरेर ट्राफिक ब्यवस्थापनलाई मजबुद बनाउने गरी नगरपालिकाले बैठक बसेर विभिन्न निर्णयहरु गर्दै निर्णय कार्यन्वयन गराउन जिल्ला ट्राफिक कार्यालयलाई जिम्मेवारी दिने बताएको छ ।
मन्थली बजारको सडक क्षेत्रको साँघुरोपनका कारण सवारी साधन र ढुवानीका साधनहरु पार्किङमा देखिएको समस्या, सडकको फुटपाथमा देखिएको समस्या लगायतका समस्याहरुलाई समधान गर्ने गरी ट्राफिक ब्यवस्थापनलाई थप व्यबस्थित गराउने गरी केही नयाँ नियमहरु लागु गर्न लागिएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बताए । जस अनुसार मन्थली बजारका ब्यापारी र पैदलयात्रीहरुलाई समेत सके सम्म सहज हुने गरी आबश्यक वातावरण तयारी गरिने र त्यसका लागि मन्थली नगरपालिकाले आबश्यक सहयोग गर्ने गरी सुधारका योजनाहरु अगाडि बढाइएको नगर प्रमुख बस्नेतले बताए ।
जिल्ला प्रहारी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार थिङले सरोकारवालाबाट आएको सुझाबका आधारमा बजार क्षेत्र र भुगोल समेतलाई मध्यनजर गर्दै नगरपालिकाको समन्वयमा काम गर्ने र त्यसका लागि सम्भावित बिकल्पहरुको समेत खोजि गरिने बताए ।
सवारीका साधन, ढुवानीका साधन र मानिसको समेत भिड हुने मन्थली बजारको मुख्य केन्द्र देवकोटा चोकमा यस अघि कायम रहेको नियमलाई तोड्दै चोकको उत्तर साइडमा टेम्पु, माइक्रो, सुमो तथा भाडाका सवारी साधनहरुलाई यात्रु चढाउन र ओराल्न मात्र दिने निर्णय गरिएको मन्थली नगरपालिकाका उपसचिव हेमन्त कुमार बुढाथोकीले जानकारी दिए । यस अघि देवकोटा चोकमा समय तोकेर रोक्न पाउने नियम थियो । त्यस्तै देवकोटा चोकको दक्षिण साइडमा मोटर साइकल पार्किङ्गको गर्ने गरी तयारी भइरहेको बुढाथोकीको भनाई रहेको छ ।
कटहरवोटबाट कृषि विकास वैङ्क हुदै देवकोटा चोकसम्म १५ दिनको अन्तरमा दुई पाँङ्ग्रे सवारी साधन सडकको दायाँ बाँया पार्क गर्न दिने तर लक गरेर र पाल ओढाएर पार्किङ्ग गर्न नदिने, रेडक्रसदेखि नापी कार्यालयसम्म रेखाद्वारा निर्धारण गरिएको स्थानमा मोटर साइकल र साना निजी गाडीहरुलाई पार्किङ्गको व्यवस्था गरिने उपसचि बुढाथोकीको बताए ।
यात्रुहरुको चापलाई मध्यनजर गर्दै कटरबोटबाट कृषि विकास बैङ्क हुँदै देबकोटा चोकसम्म बेलुका ६ बजे देखि बिहान ९ बजेसम्म र दिउँसो ११ बजे देखि २.३० बजे सम्म ढुवानीका ठूला साधनहरुलाई लोड अनलोड गर्न दिने र निर्धारित समय बाहेक ढुवानीका साधनहरु बस पार्कमा पार्किङ्ग गरेर राख्ने अर्को निर्णय भएको बताइएको छ ।
त्यसैगरी बसपार्क देखि कटहरबोट सम्मको मुख्य सडकमा पार्किङ्ग गर्न नपाउने अर्को निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाने बाटोमा उद्योग वाणिज्य संघको कार्यालय देखि कोष तथा लेखा नियन्त्रण कार्यालयको गेटसम्म एक तर्फी मोटर साइकल पार्किङ्गको व्यवस्था दिने गरी व्यवस्था मिलाइएको बुढाथोकीले बताए ।
बजारको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्थली नगरपालिकाले चालकहरुलाई सूचितको लागि पार्किङ्ग र नो पार्किङ्गको वोर्ड १० थान, नियम उलङ्घन गर्ने सवारी साधनहरुलाई कारबाही गर्न साना ठुला गरी ह्वील लक १० थान, १५ फिट लामो सिक्री लक २ थान र सडक ऐना ४ थान उपलव्ध गराउने निर्णय गरिएको नगरपालिकाले बताएको छ ।
जिल्ला प्रहारी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, मन्थली नगरपालिका र उद्योग वाणिज्य संघका पदाधिकारी सहितको सहभागितामा भएका निर्णयहरु चैत्र १ गते देखि लागु गर्ने गरी तयारी भइरहेको ट्राफिक प्रमुख चन्द्र कुमार श्रेष्ठले बताए ।
बैठकमा उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रहार खबर साप्ताहिकमा २०७८ फागुन २२ गते आइतबार प्रकाशित
आफ्नो प्रतिकृया दिनुहोस्