कैलाश खत्री / रामेछाप- जिल्लाको मन्थली नगरपालिका वडा नं १२ गेलुको एक विद्यालयमा विद्यार्थीहरुले च्याउ खेती सुरु गरेका छन् । मन्थली नगरपालिका–१२ गेलुमा रहेको माध्यमिक विद्यालय सिक्रालका विद्यार्थीहरुले च्याउ खेती सुरु गरेका हुन् । कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीको समूहले च्याउ खेतीमा भाग लिएका छन् ।
पेशा व्यवसाय तथा प्रविधि विषय अन्तरगत प्रयोगत्माक अभ्यासका रुपमा च्याउ खेती थालिएको विद्यालयले बताएको छ । च्याउ खेतीको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक प्रल्हाद खत्रीले गरीरहेका छन् । अहिले एउटा कक्षा कोठालाई च्याउ जोन बनाएर च्याउको उत्पादन गर्ने प्रविधियुक्त २४ ओटा प्लास्टिकको प्याकेट तयार गरी उत्पादनको काम सुरु गरिएको शिक्षक प्रल्हाद खत्रीले बताए । च्याउ खानाको लागि तयार हुन ३० देखि ४० दिन लाग्ने र एक पटक रोपेपछि पाँच पटक सम्म उत्पादन भइरहने बताइएको छ ।
च्याउ रोपेपछि एक प्याकेटबाट करिव तीन केजी सम्म उत्पादन हुने अनुमान गरिएको छ । यसरी प्रति प्याकेट तीन केजी च्याउ उत्पादन भएमा ७० देखि ८० केजी सम्म उत्पादन हुने अनुमान विद्यालयले गरेको छ । च्याउ उत्पादनमा संलग्न विद्यार्थीहरुले शैद्धान्तिक विषयवस्तुसँगै व्यवहारिक सीप सिकाउन मद्दत पुग्ने विद्यालयले जानकारी दिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्