



रामेछाप– १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका छन् । कोरोना भाइरसका काराण १७ महिना अघि देखि भौतिक रुपमा ठप्प रहेका ७२ वटा विद्यालयहरु स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्दै शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठ गर्ने गरी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको छ ।



विद्युतिय माध्यमको प्रयोग गरेर भइरहेको पठनपाठनलाई अब शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा नै संचालन गर्ने गरी नगर शिक्षा समितिले निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सौभाग्य न्यौपानेले बताए । विद्यालय खुले पनि शिक्षक र विद्यार्थीले भने स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्यका सबै मापदण्डलाई पुर्ण रुपमा पालना गर्नु पर्ने न्यौपानेले बताए ।
मन्थली नगरपालिकामा ६६ वटा सामुदायिक र ६ वटा नीजि विद्यालयमा गरी करिव ११ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।
२०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको कोरोना सुरु भएसँगै बन्द भएका थिए । त्यसयता विद्यार्थीको पठनपाठन, परिक्षा संचालन लगायतका शैक्षिक गतिविधिका सबै काम विद्युतिय माध्यम (अनलाइन) बाट संचालन हुँदै आएका थिए ।





आफ्नो प्रतिकृया दिनुहोस्