



रामेछाप प्रदेशसभा ‘ख’ बाट निर्वाचित कैलाश प्रसाद ढुंगेलले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएकै कारण जिल्लामा भएका कामको प्रचार गर्न मुख्य मन्त्री डोरमणी पौडेललाई प्रमुख अतिथि, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाललाई विशेष अतिथि बनाएर सदरमुकाम मन्थलीमा विहिबार एक कार्यक्रमको आयोजना गरे । जसमा मुख्य मन्त्री डोरमणी पौडेल देखि भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले समेत बागमती प्रदेशमा भएका जिल्ला मध्ये रामेछापमा सबै भन्दा बढी विकास भएको दावी गरेर बागमती सरकारले धेरै काम गरेको बताए । आफू समेत विशेष अतिथि रहेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछापमा कालोपत्रे भएका सबै सडक आफ्नो नेतृत्वमा भएको ठोकुवा गरे । रामेछापमा भएका सबै विकास केपी ओली नेतृत्वमा संभव भएको प्रसंसा गर्दै मुख्य मन्त्री देखि बोल्ने सबै मन्त्रीहरुले देउवा सरकारलाई खुलेरै गाली गर्न भ्याए । उता सबै काम आफ्नो नेतृत्वमा भएको भनेर कैलाश प्रसाद ढुंगेलले दावी गरेपछि नेपाली काँग्रेस, नेकपा एमाले माधव समूह र विभिन्न व्यक्तिहरुले ढुंगेलले इतिहाँस विर्सेर राज्यको खर्चमा आफ्नो मात्रै प्रचार प्रसार गरेको प्रति विरोध जनाएका छन् ।



बाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले तीन वर्षको अवधिमा प्रदेश सरकारले धेरै विकास गरेको दावी गरेका छन् । रामेछाप जिल्लाभित्र प्रदेश सरकारद्वारा निर्मित कालोपत्रे सडकको संयुक्त रुपमा मन्थलीबाट उदघाटन गर्दै मुख्य मन्त्री पौडेलले आफूहरु प्रदेश सरकारको नेतृत्वमा आएदेखि रामेछापमा धेरै विकास भएको दावी गरेका हुन् ।

बागमती प्रदेशका सबै जिल्लामध्ये रामेछाप जिल्लामा सडक, खानेपानी, पुल र सिँचाई जस्ता विभिन्न पूर्वधारहरु निर्माण गर्न प्रदेश सरकारले धेरै लगानी गरेको बताए । यदि प्रदेश सरकार नभएको भए यतिको विकास सम्भव नहुने भन्दै उनले प्रदेश सरकारले गरेका राम्रा कामहरुको खुलेरै प्रशंसा गर्न सबैलाई आग्रह समेत गरे ।
सरकारले गरेका धेरै राम्रा कामहरु पनि प्रचार प्रसार नहुँदा काम नभए जस्तो देखिएको उनले बताए । अझै बाँकी रहेको कार्यकालमा प्रदेश सरकारले धेरै राम्रो काम गर्ने मन्त्री पौडेलले भनाई रहेको छ । उनले परामदेशबाट आएको देउवा सरकारले जनताको हित विपरित काम गर्न थालेको जिकिर गरे । देउवा सरकारले भूमि सम्बन्धी समस्या समधान आयोग खारेजा गरेको भन्दै १४ लाख भूमिहिन मानिसलाई जमिनको धनी बन्ने अवसरबाट बञ्चित गरेको आरोप लगाए ।
त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछापमा विकास निर्माणका कामले गति लिएको बताएका छन् । विगतमा आफु जिल्ला विकास समितीको सभापति हुँदा जिल्लामा सडक, विद्युत, यातायात, खानेपानी पुल जस्ता विकासका पूर्वधारहरु केही पनि नभएको स्मरण गर्दै उनले आफू प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखी जिल्लामा आमुल परिवर्तन आएको दावी गरे । मुख्य मन्त्री डोरमणी पौडेलले आफुलाई मन्त्री बनाएको भन्दै उनले जिल्लामा विकासका कामहरु हुनुको श्रेय मुख्य मन्त्रीलाई पनि जाने बताए । आफनो कार्यकालमा जति विकास पहिला मन्त्री बनेकाहरुले पनि नगरेको र अब मन्त्री बन्नेहरुले पनि नगर्ने उनले दावी गरे ।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले उपत्यकाका तीन जिल्ला बाहेक दश जिल्लालाई तुलना गर्ने हो भौतिक पूर्वधारको क्षेत्रमा धेरै विकास रामेछापमा भएको दावी गरे । उनले मुख्य मन्त्रीको चाहान अनुसार नै रामेछापमा बढी विकास भएकाले रामेछापबासीले मुख्य मन्त्रीलाई धन्यबाद दिनु पर्ने तर्क गरे । भौतिक पूर्वधारको क्षेत्रमा धेरै समस्याहरु रहेको र त्यस्ता समस्यालाई आफू मन्त्री भए देखि हाल सम्म धेरै सुधार गरिएको दावी गरे ।
मन्त्री ढुंगेलको अभिव्यक्ति प्रति आपत्ती
बागमती प्रदेशले निर्माण गरेको ६४ किलोमिटर कालोपत्रे सडकको उद्घाटनमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जिल्लाको सबै कालोपत्रे सडक आफ्नो नेतृत्वमा भएको अभिव्यक्ति दिएपछि नेपाली काँग्रेसका जिल्ला सचिव लेखबहादुर कार्कीले उनको अभिव्यक्ति प्रति आपत्ती (सामाजिक संजाल फेसबुक मार्फत) जनाएका छन् । रामेछाप जिल्लाको विकासमा आफू पनि तीस वर्ष देखि जानकार रहेको बताउँदै सचिव कार्कीले जिल्लाको विकासमा सबै राजनीतिक दलहरुको योगदान भएको बताएका छन् । प्रदेश सरकारबाट भएको विकास कुनै व्यक्तिको सम्पत्तीबाट नभई राज्यकोषबाट भएकाले राज्यकै खर्च गरेर मैले गरेको भन्दै प्रचार गर्नु गलत भएको सचिव कार्कीको भनाई रहेको छ । प्रदेश सरकारबाट निर्माण सुरु भएका योजनाहरुको सम्पन्न नभई उद्घाटन गर्नु बेतुकको प्रचारबाजी मात्रै भएको उनको टिप्पणी रहेको छ । त्यस्तै नेकपा एमाले माधव कुमार नेपाल समूह रामेछापका नेता ज्ञानकुमार श्रेष्ठले १५ वर्ष अगाडि देखि नै निर्माण हुँदै आएको सडकको समेत आफ्नो प्रचार गर्नलाई फेरि उद्घाटन गर्नु ठिक नभएको बताएका छन् । १५ वर्ष पहिले जनताको चन्दाबाट बनेको सित्खा–भिरपानी–गोगनपानी–फुल्पा सडकको पुर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा उद्घाटन समेत भइसकेको अवस्थामा फेरि उद्घाटन गर्नु कस्तो संस्कार हो ? भन्दै (सामाजिक संजाल फेसबुक मार्फत) प्रश्न समेत गरेका छन् ।
त्यस्तै प्रदेश सरकारको बजेटबाट बनेका सडकहरु गुणस्तरहिन बनेको भन्दै त्यस्ता गुणस्तरहिन सडक मन्त्रीहरुले उद्घाटन गर्नु भनेको गुणस्तरहिन काममा मन्त्रीहरुको पनि मिलेमतो छ भन्ने प्रष्ट भएको स्थानीय नागरिकहरुको भनाई रहेको छ ।
प्रहार खबर साप्ताहिकमा साउन २४ गते आइतबार प्रकाशित





आफ्नो प्रतिकृया दिनुहोस्