
रामेछाप- रामेछापको सुनापति गाउँपालिकामा तीन गाउँपालिकाका कर्मचारीबीच एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मैत्रीपूर्ण खेल मार्फत आपसी मित्रता, सहकार्य र सद्भाव कायम राख्ने उद्देश्यले सुनापति गाउँपालिका, दोरम्बशैलुङ्ग गाउँपालिका र खाँडादेवी गाउँपालिकाका कर्मचारीबीच प्रतियोगिता भएको सुनापति गाउँपालिकाले जनाएको छ । शनिवार सुनापति गाउँपालिकाको खेल मैदानमा भएको फुटबल प्रतियोगितामा लिग चरणका खेलहरू सम्पन्न भए पश्चात् सुनापति गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिका बिच भएको फाइनल खेलमा सुनापति गाउँपालिका एक गोल गर्दै प्रथम भएको थियो । सुनापति गाउँपालिका विजेता बन्दा दोरम्बाशैलङ्ग गाउँपालिका उपविजेता बनेको थियो ।



प्रतियोगिताको उद्घाटन गाउँपालिका उपाध्यक्ष गिता विष्टले गरेकी थिइन् । उपाध्यक्ष विष्टले प्रतियोगिताको उद्घाटन गर्दै छिमेकी पालिकाबिच हुने मैत्रीपूर्ण खेलकुद प्रतियोगिताले आपसी समझदारी कायम गर्ने विश्वास व्यक्त गरिन् ।
प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरूको सहभागिता रहेको सुनापति गाउँपालिकाका फुटबल टिम प्रमुख प्रशिक्षक श्रीराम ढुंगनाले जानकारी दिए ।




















