

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी भई ग्रेडेट भएका विद्यार्थीलाई नगद पुरस्कार, प्रशंसापत्र तथा शैक्षिक सामग्रीसहित सम्मान गरिएको छ । विद्यालय र रामेछाप जेसीजको संयुक्त आयोजनामा सोमबार विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा एसइई उत्तीर्ण विद्यार्थीसँगै कक्षा १ देखि ११ सम्म उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।



कार्यक्रममा एसइईमा ग्रेड प्राप्त गरेका ४४ जना विद्यार्थीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो । त्यसैगरी कक्षा १ देखि ११ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना आयोजक रामेछाप जेसिज र विद्यालयले जनाएका छन् ।
साना कक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री
रामेछाप जेसीजले कार्यक्रममार्फत इसिडी, कक्षा १ र कक्षा २ मा अध्ययनरत सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । त्यस्तै कक्षा १ देखि ११ सम्म उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पुरस्कार प्रदान गरिएको रामेछाप जेसीज वर्ष २०२६ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार एसइईमा सहभागी भई ग्रेड प्राप्त गरेका सबै ४४ जना विद्यार्थीलाई उज्ज्वल शैक्षिक भविष्यको शुभकामनासहित प्रशंसापत्र प्रदान गरिएको हो । यस्ता कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै अध्ययनप्रति थप जिम्मेवार बन्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।
विद्यालयद्वारा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार
कार्यक्रममा विद्यालयले पनि एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक कुशप्रसाद दाहालका अनुसार ए प्लस ग्रेड प्राप्त गर्ने ६ जना विद्यार्थीलाई जनही एक हजार रुपैयाँ तथा ए ग्रेड प्राप्त गर्ने १३ जना विद्यार्थीलाई जनही पाँच सय रुपैयाँका दरले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै एसइई परीक्षामा ग्रेडेट भएका सबै ४४ जना विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको उनले बताए । विद्यालयले विद्यार्थीको मेहनतको कदर गर्दै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक दाहालले बताए ।
सहायक प्रधानाध्यापकबाट व्यक्तिगत पुरस्कार
विद्यालयका सहायक प्रधानाध्यापक कुलबहादुर शिवभक्तीले पनि ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई व्यक्तिगत रूपमा नगद पुरस्कार प्रदान गरेका छन् । उनले ए प्लस ल्याउने ६ जना विद्यार्थीलाई जनही पाँच सय रुपैयाँ प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । शिवभक्तीले विद्यार्थीको सफलता विद्यालय, अभिभावक र शिक्षकको साझा मेहनतको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई प्रेरित गरेका थिए ।
प्रदीप बस्नेतबाट ३५ हजार रुपैयाँ पुरस्कार
कार्यक्रममा नेपाली कांग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका कार्यवाहक सभापति प्रदीप बस्नेतले पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेका छन् । उनले ए प्लस ग्रेड प्राप्त गर्ने ६ जना विद्यार्थीमध्ये सबैभन्दा उच्च ग्रेड प्राप्त गर्ने एक जना विद्यार्थीलाई १० हजार रुपैयाँ तथा अन्य पाँच जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार वितरण गरेका हुन् । रामेछाप जेसिजका पुर्व अध्यक्ष समेत रहेका बस्नेतले विद्यालयका प्रधानाध्यापक मार्फत उक्त पुरस्कार प्रदान गरेका थिए ।
उत्कृष्ट नतिजा दिलाउने शिक्षक पनि सम्मानित
विद्यार्थी मात्र नभई उत्कृष्ट नतिजा दिलाउन योगदान पु¥याएका शिक्षकलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । विभिन्न विषयमा उत्कृष्ट अंकसहित विद्यार्थी उत्तीर्ण गराउन सफल ११ जना शिक्षकलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक दाहालले जानकारी दिए । विद्यालयको शैक्षिक उपलब्धिमा शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूको योगदानको कदरस्वरूप सम्मान गरिएको विद्यालयले जनाएको छ ।
शिक्षा सुधारमा सबैको साझा प्रयास आवश्यक
कार्यक्रममा बोल्ने वक्ताहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, अभिभावक, स्थानीय सरकार, सामाजिक संघसंस्था तथा समुदायबीचको सहकार्य आवश्यक रहेको बताएका थिए । विद्यार्थीलाई पुरस्कार तथा सम्मानले उनीहरूमा आत्मविश्वास बढ्नुका साथै थप मेहनत गर्न प्रेरणा मिल्ने धारणा उनीहरूले व्यक्त गरे । प्रधानाध्यापक कुशप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्थली नगरपालिका–३ का वडा सदस्य रमेशबहादुर बरुवाल, मन्थली–२ का वडा सदस्य बालकाजी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।





















