
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रामेछापबाट उम्मेदवार बनेका रामचन्द्र खड्कासँग हाम्रो प्रहार डटकमका प्रधान सम्पादक रामचन्द्र विकले गरेको कुराकानीको सम्पादित अंश ।




लामो राजनीतिक जीवनपछि तपाईं २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नु भएको छ । आफ्नो जीवन यात्रा र राजनीतिमा प्रवेशको पृष्ठभूमि बताइदिनुस् ।
मेरो जन्म वि.सं. २०१३ साल माघमा रामेछापको सुनापति गाउँपालिका–४, बेथानमा भएको हो । मेरो राजनीतिक चेतनाको बीउ भने सानै उमेरमा रोपियो । २०२१ सालको बम काण्डमा मेरा दाजु शिवबहादुर खड्कासहित केही युवामाथि राजगद्दी उल्ट्याउने अभियोग लाग्यो र फाँसीको सजायसम्मको अवस्था आयो । त्यतिखेर मेरा बुबा प्रधानपञ्च हुनुहुन्थ्यो, तर उहाँले पद त्यागेर हामीलाई अन्याय र दमनविरुद्ध उभिन प्रेरित गर्नुभयो । “तिमीहरूले पञ्चायती व्यवस्था र अन्यायको अन्त्य गर्नुपर्छ” भन्ने बुबाको भावनाले मलाई विद्रोही चेतनातर्फ डो¥यायो । त्यही कारणले म बाल्यकालदेखि नै राजनीतिक रूपमा सचेत भएँ । सुरुमा अनेरास्ववियुको सदस्य भएँ, पछि नेविसंघमा प्रवेश गरेँ । विद्यार्थी आन्दोलनमा सक्रिय हुँदा पटक–पटक पक्राउ परेँ, जेल परेँ, आरआर क्याम्पसबाट दुई वर्षका लागि रस्टिकेटसमेत भएँ । पछि ल क्याम्पसबाट आईएल र महेन्द्ररत्न क्याम्पसबाट बीएड पूरा गरेँ ।
विद्यार्थी आन्दोलन र पार्टी संगठनमा तपाईंको भूमिका कस्तो रह्यो ?
२०३० सालको घटनापछि केही साथीहरूसहित म पनि पक्राउ परेँ । म नाबालक भएकाले छुटेँ, तर त्यसले झन् हौसला बढायो । २०३१–३२ को विद्यार्थी आन्दोलनमा सक्रिय रहेँ । बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेरजस्ता नेताहरूलाई प्रत्यक्ष देख्ने, आन्दोलनमा सहभागी हुने अवसर पाएँ । २०३३ सालमा बीपी कोइराला नेपाल फर्किँदा स्वागत गर्न जाँदा हामीमाथि कुटपिटसमेत भयो । पछि कांग्रेसको क्रियाशील सदस्य बनेँ, शिक्षक पेशामा बसेर पनि पार्टी संगठन बलियो बनाउने काम गरिरहेँ । २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन- यी सबैमा म प्रत्यक्ष सहभागी थिएँ । २०४६ मा त म शिक्षक हुँदाहुँदै पनि पुलिस कस्टडीमा परेँ ।
तपाईं लामो समय पार्टी सभापति पनि हुनुभयो । त्यस अनुभवलाई कसरी हेर्नुहुन्छ ?
२०५७ सालदेखि म नेपाली कांग्रेस रामेछापको सभापति भएँ र तीन कार्यकाल नेतृत्व गरेँ । संगठन निर्माण, आन्तरिक एकता र लोकतान्त्रिक अभ्यासमा मैले सधैं जोड दिएँ । १३औँ महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गरें । म कहिल्यै पदलाई टाँसिरहनुपर्छ भन्ने मान्यता राख्दिनँ । नेतृत्व हस्तान्तरण पनि लोकतन्त्रको सुन्दर अभ्यास हो भन्ने मेरो विश्वास हो ।
सत्ताको लोभ किन कहिल्यै पलाएन ?
२०५९ सालमा पार्टी फुट्दा मन्त्री बन्ने अवसर आउन सक्थ्यो । तर मैले पार्टी र आदर्श छोडिनँ । मलाई सत्ताभन्दा निष्ठा ठूलो लाग्छ । कलंकित भएर पदमा पुग्नुभन्दा निष्कलंक भएर संघर्षमै रहनु राम्रो ठान्छु । म पार्टीको इतिहास र मूल्य बचाउने पक्षमा उभिएको मान्छे हुँ ।
अहिलेको पुस्ता, विशेषगरी न्भल श् का मागलाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ ?
आजको पुस्ता जागरुक छ, प्रश्न सोध्छ र जवाफ खोज्छ । उनीहरूलाई भाषण होइन, अवसर चाहिएको छ- रोजगारी, सीप, प्रविधिमा पहुँच र उद्यमशीलताको वातावरण । यदि राज्यले यही पुस्तालाई देशभित्रै अवसर दिन सकेन भने पलायन रोकिन्न । त्यसैले मेरो प्राथमिकता सीपमूलक तालिम, स्टार्टअपमा सहुलियत ऋण, कृषि र पर्यटनसँग जोडिएका युवा उद्यम कार्यक्रम, र डिजिटल सेवा विस्तारमा हुनेछ । जेनजीले सुशासन र पारदर्शिता पनि खोजेको छ, त्यसैले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्नुपर्छ ।
कांग्रेसको नेतृत्व परिवर्तन र त्यसको प्रभावलाई कसरी हेर्नुहुन्छ ?
आज नेपाली कांग्रेस नयाँ नेतृत्वमा परिवर्तनको बाटोमा गएको छ । सभापति गगन कुमार थापाको नेतृत्वमा पार्टीले नीति, संगठन र कार्यशैलीमा नयाँ सोच अघि सारेको छ । यही परिवर्तनलाई जनताले साथ दिएर कांग्रेसलाई बहुमत दिए भने देश पनि परिवर्तन हुन्छ भन्ने मेरो दृढ विश्वास हो । पार्टीभित्र सुधार भयो भने सरकार सञ्चालनमा पनि सुधार हुन्छ, र त्यसको प्रत्यक्ष लाभ जनताले पाउँछन् ।
भ्रष्टाचार र सुशासनका विषयमा तपाईंको धारणा ?
आज जनप्रतिनिधिले जनभावनाअनुसार काम गरेन भने जनप्रतिनिधि नै संकटमा पर्छन् । अहिलेको पुस्ताले २७–२८ घण्टामै सरकार हल्लाउन सक्छ । त्यसैले पारदर्शिता, जवाफदेहिता र विधिको शासन अब विकल्प होइन, बाध्यता हो । कांग्रेसले अघि सारेको सुशासनको एजेन्डालाई कागजमा होइन, व्यवहारमा उतार्नुपर्छ ।
किन नेपाली कांग्रेसलाई भोट दिनुपर्छ ?
नेपालका सबै ठूला लोकतान्त्रिक परिवर्तन २००७ सालदेखि हाल सम्म कांग्रेसकै नेतृत्वमा भएका छन् । संविधान, प्रेस स्वतन्त्रता, खुला अर्थतन्त्र, नागरिक अधिकार—यी सबैको आधार कांग्रेस हो । यदि कांग्रेस कमजोर भयो भने लोकतन्त्र, संविधान र अर्थतन्त्र सबै कमजोर हुन्छन् । वामपन्थी पार्टीहरू मात्रैले राज्य व्यवस्था दीर्घकालसम्म धान्न सक्दैनन् । सन्तुलित, लोकतान्त्रिक र समावेशी राज्यका लागि कांग्रेस आवश्यक छ ।
रामेछापका मुख्य समस्या र तपाईंका चुनावी एजेन्डा के हुन् ?
म व्यक्तिवादी विकास होइन, नीतिगत सुधार र कार्यान्वयन गर्न सकिने योजनामा विश्वास गर्छु । त्यसैले चुनावी नारामात्र होइन, स्पष्ट घोषणापत्र÷प्रतिबद्धता पत्र ल्याउनेछु, जसमा जिल्लालाई सुहाउने र गर्न सकिने मात्रै कुरा समेटिनेछ । मेरा प्रमुख एजेन्डा यस्ता छन् ।
-विदेशिएका युवालाई स्वदेश फर्काएर कृषि, उद्योग र पर्यटनमार्फत जिल्लामै रोजगारी
-मल, बीउ, पशुदानामा सिधा सब्सिडी र किसानलाई उत्पादनमै आधारित प्रोत्साहन
-स्थानीय उत्पादन सरकारले खरिद गरेर बजारसम्म पु¥याउने व्यवस्था
-सडक, जलविद्युत् र खानेपानीको स्थानीय उपभोग सुनिश्चित गर्दै दीगो पूर्वाधार
-शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर सुधार र पहुँच विस्तार
यी सबै नीतिगत निर्णय र दृढ कार्यान्वयनबाट मात्र सम्भव हुन्छ । त्यसैले प्रतिवद्धता पत्रमा समयसीमा, स्रोत र कार्यान्वयन संयन्त्रसमेत स्पष्ट रूपमा राखिनेछ । यि सबै कुरा मेरो घोषणापत्रमा आउँछन् ।
साधारण जीवनशैली भएका तपाईंले महँगो चुनाव कसरी लड्नुहुन्छ ?
घर धितो राखेर, केही सम्पत्ति बेचेर र आवश्यक ऋण लिएर म चुनाव लड्छु । मलाई विश्वास छ, मतदाताले मबाट पैसा होइन, इमान्दारी खोज्छन् । निष्ठावान मान्छेले पनि चुनाव जित्न सक्छ भन्ने उदाहरण दिन चाहन्छु ।
अन्त्यमा मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?
भोट हाल्दा भावनामा होइन, भविष्यमा सोचेर हाल्नुस् । जो सधैं तपाईंको सुख–दुःखमा साथ रह्यो, जसले स्वार्थ, डर र दबाबभन्दा माथि उठेर समाजको पक्षमा उभियो, उसैलाई छान्नुस् । म तपाईंहरूको शिर झुक्ने कुनै काम गर्ने छैन । देशलाई अस्थिरता, सौदाबाजी र सत्ता खेलबाट निकाल्न प्रत्यक्ष र समानुपातिक दुबै तर्फ नेपाली कांग्रेसलाई मत दिएर कांग्रेसलाई देशकै पहिलो ठूलो पार्टी बनाइदिनुस् र बलियो, स्थिर एकल सरकार बनाउने जनादेश दिनुस् । त्यही जनादेशबाट मात्र सुशासन, रोजगारी र विकास सम्भव हुन्छ । मेरो बाँकी जीवन जनताको सेवा र रामेछापको रूपान्तरणमै समर्पित रहनेछ ।

















