

रामेछाप- रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरले चालु आर्थिक वर्षमा हालसम्म वडाबाट प्रवाह भएका सेवा, विकास निर्माण र समसामयिक विषयमा हाकाहाकी प्रश्नोत्तर सहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय नागरिक, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागितामा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरूले विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।




सार्वजनिक सुनुवाइमा वडा सचिव भागवत श्रेष्ठले चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म वडाबाट भएका सेवा प्रवाह र विकास निर्माणको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले सेवाग्राहीको चापलाई ध्यानमा राख्दै सेवाग्राहीमैत्री सेवा प्रवाह गरिएको, सूचना प्रकाशन, गुनासो सुन्ने व्यवस्था, नागरिक सहायता कक्ष, कानुनी सहायता कक्ष तथा स्तनपान कक्षको व्यवस्था गरिएको जानकारी गराए । वडाबाट व्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिस, राजस्व संकलन लगायतका सेवा अनलाइन प्रणालीमार्फत प्रदान हुँदै आएको र चालु आ.व. २०८२/०८३ मा हालसम्म ५ लाख ४५ हजार ७ सय २६ रुपैयाँ ७८ पैसा राजस्व संकलन भएको सचिव श्रेष्ठले बताए । वडा स्तरीय योजनाहरू उपभोक्ता समिति तथा टोल विकास संस्थामार्फत सञ्चालन भई सम्पन्न हुने चरणमा रहेको जानकारी पनि उनले गराए । कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, कभर्ड हल, एम्बुलेन्स सेवा, कृषि एम्बुलेन्स, बालमैत्री कार्यक्रम, सामाजिक सुरक्षा तथा बजेट कार्यान्वयनका विषयमा स्थानीयको चासो देखिएका थिए । संघ तथा प्रदेश सरकारसँगको समन्वयमा विर्ता–ग्वाल्टार जोड्ने मोटरेबल पुल निर्माणको पहल भइरहेको, विद्यालय तथा स्वास्थ्य संस्थाको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा काम भइरहेको र कृषकका लागि मौरीपालन, जुनार बगैचा व्यवस्थापन, कृषि सामग्री वितरण तथा कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिएको श्रेष्ठले जानकारी गराए ।
स्थानीयको प्रश्नको जवाफ दिँदै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले कृषि एम्बुलेन्स सञ्चालनमा देखिएका कमजोरी स्वीकार गर्दै आगामी दिनमा कृषि सहकारीसँग समन्वय गरी कार्यविधिअनुसार सञ्चालन वा हस्तान्तरण गर्न नगरपालिका तयार रहेको बताए । सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माणका कारण देखिएका धुलो, पानी निकास र जोखिमका विषयलाई वर्षायामअघि नै न्यूनीकरण गर्ने प्रतिबद्धता पनि उनले जनाए । खानेपानी र सिँचाइका दीर्घकालीन समस्या समाधानका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गर्दै ठूला आयोजना अघि बढाइने र आगामी बजेटमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य तथा आर्थिक विकास क्षेत्रमा लगानी बढाइने चापागाईंको भनाइ थियो । उनले वडा ७ पारदर्शी ढङ्गले काम गरिरहेको र नागरिक सन्तुष्टि रहेको वडा भएको समेत उल्लेख गरे ।
वडाध्यक्ष समिर कार्कीले सार्वजनिक सुनुवाइलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै यसले नागरिकलाई सुसूचित बनाउने र जवाफदेही शासन प्रणाली स्थापना गर्न मद्दत पुगेको बताए । स्थानीयले उठाएका विषयलाई आलोचना नभई सुझावका रूपमा ग्रहण गरिएको र ती सुझावका आधारमै वडाको विकास दिशा तय गरिने प्रतिबद्धता उनले व्यक्त गरे । कार्कीले वडा कार्यालयको नाममा करिब साढे दुई रोपनी जग्गाको लालपुर्जा प्राप्त भएको, लामो समयदेखि अधुरो रहेको कभर्ड हल र खेलमैदान सम्पन्न हुने चरणमा पुगेको र आगामी वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही वडामा आयोजना गर्ने तयारी भइरहेको बताए । साथै सबै नागरिकलाई स्वास्थ्य बीमा, निःशुल्क एम्बुलेन्स सेवा, कृषक प्रोत्साहन कार्यक्रम, विद्यालय व्यवस्थापन र जस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरे, निवर्तमान अध्यक्ष बद्री नयाँघरे, वडामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले समेत आफ्नो भनाइ राख्दै सेवा प्रवाह र विकास निर्माणलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको समापन गर्दै वडाध्यक्ष कार्कीले सार्वजनिक सुनुवाइमा प्राप्त सबै सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेट्दै चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । “शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राख्दै समुन्नत र समृद्ध रामेछाप निर्माणका लागि सबै वडावासीसँग हातेमालो गरेर अघि बढ्छौँ,” उनले भने ।


















