

रामेछाप- सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को सामाजिक परीक्षण सम्पन्न भएको छ । गाउँपालिकाले गएको आर्थिक वर्ष २०८१।०८२ को लागि सेवा प्रवाह र विकास निर्माणको लागि लिएका नीति तथा लक्ष्यको उद्देश्य पुरा भए/नभएको मूल्याङ्कन सहितको नतिजा सार्वजनिक गर्दै सामाजिक परीक्षण सम्पन्न गरेको हो । शुक्रवार गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा सार्थक इन्जिनियर कन्सल्टेन्सी प्रालिले तयार पारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन सार्वजनिक पश्चात् कार्यक्रममा सहभागीहरूले प्रतिवेदन माथि आफ्नो धारणा राख्दै सुनापति गाउँपालिकाले सुशासन र पारादर्शीतालाई थप बलियो बनाउने उद्देश्यले गरिएको काम राम्रो भएको प्रतिक्रिया दिएका थिए ।



कार्यक्रममा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले गाउँपालिकाबाट गरिएका कामको प्रभावकारिता सहित गरिएको सामाजिक परीक्षणले सुशासनयुक्त पालिका बनाउन मद्दत पुग्ने धारणा राखे । अध्यक्ष तामाङले सामाजिक परीक्षणमा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका राम्रा कामले जनप्रिनिधिहरुलाई हौसला दिने र कामजोरीहरुलाई सुधार गर्न मद्दत पुग्ने भनाइ राखे । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता विष्टले गाउँपालिकाबाट प्रवाह गरिएका सेवा प्रवाह र विकास निर्माण लगायतका विभिन्न क्षेत्रको मूल्याङ्कन सहित गरिएको सामाजिक परीक्षणले गाउँपालिकालाई सुशासन मैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले सामाजिक परीक्षणले गाउँपालिकाको कामको यथार्थ मूल्याङ्कन हुने भएकाले आगामी दिनमा तालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन र विकास निर्माणको कामलाई पनि गुणस्तरीय बनाउन सकिने भनाइ राखे ।
कार्यक्रममा वडा नं २ का वडाध्यक्ष पदम थापा, वडा नं ३ का वडाध्यक्ष कुलबहादुर थिङ, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नं ५ का वडाध्यक्ष चित्रबहादुर मानन्धर, गाउँपालिकाको विभिन्न शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।



















