
रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र भदौ १० गतेको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवारलाई डिएनए परीक्षणको लागि स्याम्पल दिन अनुरोध गरेको छ ।



बाढीपछि फेला परेका बेवारिसे शव वा शरीरका विभिन्न अङ्गहरूको सही पहिचान र सनाखत सुनिश्चित गर्ने उद्देश्यले सरकारले आफन्तजनलाई डिएनए नमुना उपलब्ध गराउन आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालयले पनि सम्पर्कमा नआएका व्यक्तिका आफन्तजनलाई भेटिएको शवसँग डिएनए परीक्षण गराउन आवश्यक नमुना उपलब्ध गराउन आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले सम्पर्कविहीन भएका परिवारका सदस्यहरूले भदौ २६ गते सदरमुकाम मन्थलीमै आएर डिएनए परीक्षणको लागि आवश्यक पर्ने रगत दिन आग्रह गरेका हुन् । भोटेकोशी बाढीपछि रामेछापका ४४ जना व्यक्तिहरू हाल सम्म सम्पर्कविहीन भएका र उनीहरू मध्ये धेरैजसोले डिएनए परीक्षणको लागि आवश्यक पर्ने रगत दिइसकेका केही मानिसहरू बाँकी रहेकाले उनीहरूलाई सदरमुकाम मन्थलीमा आएर नमुना दिन उनले आग्रह गरेका छन् ।
आफन्तहरूले हराइरहेका व्यक्तिको डिएनए प्रोफाइलसँग तुलना गर्नका लागि आफ्नो फर्स्ट डिग्री रिलेटिभ अर्थात् बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । नमुना दिन आउने व्यक्तिहरूले आफ्नो नागरिकता, सम्पर्कविहीन भएका व्यक्तिसँग नाता खुल्ने कागजात र दुई प्रति फोटो आवश्यक पर्ने प्रहरी प्रमुख जैसवारले बताए ।
भोटेकोशी नदीमा आएको बाढीपछि रामेछापका ४४ जना सम्पर्कविहिन छन् भने ३६ जना सम्पर्कमा आइसकेका छन् । हराएका एक जनाको चितवनमा शव भेटिएको छ ।


















