

दुर्गा भुजेल
तीन वर्ष । एउटा बालिकाको जीवनमा यो उमेर संसार बुझ्ने होइन, संसार चिन्न सुरु गर्ने उमेर हो । आमाको काख, बाबुको हात, खेलौना र घरआँगन नै उसको संसार हुन्छ । उसले जीवनको अर्थ बुझिसकेकी हुँदैन, मान्छेको नियत चिन्न सक्ने अवस्थामा पनि हुँदिन । तर त्यही उमेरकी एउटी अबोध बालिका बलात्कारको शिकार हुन्छिन् र अन्ततः उनको हत्या गरिन्छ । यो घटना सुन्दा मन भारी हुन्छ । शब्दहरू निस्सासिन्छन् । आक्रोश व्यक्त गर्न खोज्दा भाषा नै कमजोर लाग्छ । तर यो केवल एउटा परिवारको दुःखद घटना भनेर बिर्सने विषय होइन । यो हाम्रो समाजको संवेदनशीलता, राज्यको सुरक्षा व्यवस्था, कानुनी कार्यान्वयन र सामूहिक विवेकमाथि उठेको गम्भीर प्रश्न हो ।



अझ चिन्ताजनक कुरा के छ भने, यस्ता घटना कुनै एक ठाउँ वा एक परिवारको पीडामा सीमित देखिन छाडेका छन् । समय–समयमा सार्वजनिक हुने बालबालिकामाथिका यौन हिंसा, बलात्कार, हत्या तथा अन्य जघन्य अपराधका घटनाले समाजमा गहिरो असुरक्षाको भावना पैदा गरिरहेका छन् । एउटा घटना सेलाउन नपाउँदै अर्को घटनाको खबर आउँदा प्रश्न उठ्छ- हामी कहाँ जाँदैछौँ ? के हिंसा र अपराध हाम्रो समाजमा सामान्य बन्दै गएका हुन् ? के अपराधीको मनबाट कानुनको डर हराउँदै गएको हो ? अथवा हाम्रो सामाजिक चेतना नै यति कमजोर हुँदै गएको हो कि केही दिनको आक्रोशपछि हामी फेरि सबै कुरा बिर्सन थालेका छौँ ? तीन वर्षकी ती बालिकाले आखिर के गल्ती गरेकी थिइन् ? उनले कसैको अधिकार खोसेकी थिइनन् । कसैसँग दुश्मनी गरेकी थिइनन् । कसैलाई चुनौती दिएकी थिइनन् । उनी त आफ्नै सानो संसारमा खेल्दै, हाँस्दै र बाँच्दै थिइन् । तर उनको अबोधपन नै उनको कमजोरी बन्यो। जसले उनलाई सुरक्षा दिनुपर्ने थियो, त्यही समाजमा उनी असुरक्षित भइन् । यो घटनाले एउटा कठोर सत्य हाम्रो अगाडि ल्याएको छ- जब समाजका सबैभन्दा कमजोर र असहाय बालबालिका सुरक्षित हुँदैनन्, तब हामीले आफूलाई सभ्य समाज भन्नुअघि हजारपटक सोच्नुपर्छ ।
यस्ता जघन्य अपराध गर्ने व्यक्ति कानुनको कठघरामा उभिनुपर्छ । अनुसन्धान निष्पक्ष हुनुपर्छ र दोष प्रमाणित भएमा कानुनअनुसार कठोर सजाय हुनुपर्छ । तर अपराधीलाई सजाय दिएर मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैन । यस्ता अपराधको संख्या किन बढिरहेको छ, अपराध गर्ने मानसिकता कहाँबाट जन्मिन्छ र अपराध हुनुअघि रोकथामका संयन्त्र किन प्रभावकारी हुन सकेका छैनन् भन्ने प्रश्नको उत्तर खोज्न पनि उत्तिकै आवश्यक छ ।
अपराध भएपछि मात्र सक्रिय हुने प्रणालीभन्दा अपराध हुन नदिने राज्य संयन्त्र आवश्यक छ । बालबालिकाको सुरक्षा परिवारको जिम्मेवारी मात्र होइन। विद्यालय, समुदाय, स्थानीय सरकार, प्रहरी प्रशासनदेखि केन्द्र सरकारसम्म सबैको साझा जिम्मेवारी हो । हामीले बालबालिकालाई सुरक्षित राख्न केवल उनीहरूलाई सावधान रहन सिकाएर पुग्दैन । समाजको मानसिकता बदल्नुपर्छ । बालबालिकालाई सम्मान गर्न, उनीहरूको सीमाको सम्मान गर्न र गलत व्यवहारप्रति शून्य सहनशीलता अपनाउन परिवार र विद्यालयदेखि नै संस्कार निर्माण गर्नुपर्छ । तर यसका लागि कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन। कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ । अपराध गरेपछि कुनै पनि हालतमा उम्किन सकिँदैन भन्ने विश्वास समाजमा स्थापित हुनुपर्छ । कानुन किताबमा लेखिएको शब्द होइन, अपराधीको मनमा पैदा हुने डर पनि हो । दुःखद कुरा के छ भने यस्ता घटना भएपछि केही दिन देश आक्रोशित हुन्छ । सामाजिक सञ्जालमा हजारौँ शब्द लेखिन्छन् । न्यायको माग हुन्छ । विरोधका आवाज उठ्छन् । तर समय बित्दै जाँदा घटना पुरानो बन्दै जान्छ र हाम्रो ध्यान अर्को विषयतर्फ मोडिन्छ । यही मौनता र बिर्सने प्रवृत्तिले पनि अपराधविरुद्धको सामूहिक चेतनालाई कमजोर बनाइरहेको छ ।
पीडित परिवारका लागि भने त्यो घटना कहिल्यै पुरानो हुँदैन। आमाको काख सधैँ खाली रहन्छ । बाबुको मनमा छोरी गुमाएको पीडा सधैँ जीवित रहन्छ। एउटा घरको खुसी सधैँका लागि हराउँछ । त्यसैले हाम्रो आक्रोश घटना चर्चामा रहँदासम्म मात्र सीमित हुनु हुँदैन। न्याय सुनिश्चित नभएसम्म आवाज उठिरहनुपर्छ । अपराधको अनुसन्धान र न्याय प्रक्रिया छिटो, निष्पक्ष र पारदर्शी हुनुपर्छ। पीडित परिवारले न्यायका लागि वर्षौँसम्म संघर्ष गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । अझ गम्भीर कुरा, यस्ता घटनामा पीडितमाथि नै प्रश्न उठाउने मानसिकता पूर्ण रूपमा अन्त्य हुनुपर्छ। तीन वर्षकी बालिकाको हकमा त त्यस्ता प्रश्नको कुनै अर्थ नै हुँदैन। अपराधको जिम्मेवारी अपराधीको हो। पीडितको चरित्र, पहिरन, व्यवहार वा परिस्थितिलाई दोष दिएर अपराधीलाई उन्मुक्ति दिने कुनै पनि मानसिकता आफैँमा सामाजिक अपराध हो । आज एउटा तीन वर्षकी बालिकाको घटना हामीसामु छ । तर यो घटना एउटा चेतावनी पनि हो । यदि यस्ता अपराधलाई समयमै रोक्न सकेनौँ भने यसको उग्ररूप अझ फैलिन सक्छ । आज बालिकामाथि भएको हिंसा, भोलि अन्य कमजोर वर्गमाथि हुने हिंसामा परिणत हुन सक्छ । अपराधप्रति सहनशीलता बढ्दै गयो भने समाजमा भय, अविश्वास र असुरक्षा अझ गहिरिँदै जान्छ । हामीले विकासको कुरा गर्छौँ । आधुनिकताको कुरा गर्छौँ। ठूला सडक, अग्ला भवन र प्रविधिको प्रगतिलाई समृद्धिको सूचक मान्छौँ । तर एउटी तीन वर्षकी बालिकालाई सुरक्षित जीवन दिन सक्दैनौँ भने हाम्रो विकासको अर्थ के हो ?
देशको वास्तविक सभ्यता भवनको उचाइले होइन, समाजका सबैभन्दा कमजोर नागरिक कति सुरक्षित छन् भन्ने कुराले मापन हुन्छ । तीन वर्षकी ती अबोध बालिका अब हामीसँग आफ्नो पीडा सुनाउन सक्दिनन् । तर उनको मौनताले हामीसँग एउटा प्रश्न गरिरहेको छ –
“मलाई जोगाउने समाज कहाँ थियो ?”
यो प्रश्नको उत्तर भाषणले होइन, न्यायले दिनुपर्छ । सामाजिक सञ्जालका केही दिनका आक्रोशपूर्ण शब्दले होइन, राज्यको प्रभावकारी कारबाहीले दिनुपर्छ । अपराधीलाई सजाय दिएर मात्र होइन, यस्ता घटना दोहोरिन नदिने वातावरण निर्माण गरेर दिनुपर्छ । अब हामीले सोच्नुपर्ने बेला आएको छ- हामी आफ्ना सन्तानका लागि कस्तो समाज छोड्दैछौँ ? डरले भरिएको समाज कि भरोसाले भरिएको समाज ? मौनताले अपराधलाई बल दिने समाज कि अन्यायविरुद्ध एकजुट भएर उभिने समाज ? आज एउटा बालिकाको जीवन सकिएको छ । अब हाम्रो मौनता पनि सकिनुपर्छ । अपराधलाई सामान्य ठान्ने प्रवृत्तिविरुद्ध बोल्नुपर्छ । पीडित परिवारको पक्षमा उभिनुपर्छ । न्यायको मागलाई घटना सेलाएसँगै सेलाउन दिनु हुँदैन । राज्यलाई जवाफदेही बनाउनुपर्छ र समाजलाई संवेदनशील बनाउनुपर्छ । किनकि कुनै पनि सभ्य समाजको पहिलो परिचय उसको शक्ति होइन, उसले आफ्ना सबैभन्दा कमजोर नागरिकलाई कति सुरक्षित राख्न सक्छ भन्ने हो । तीन वर्षकी एउटी बालिकाको चित्कारले पनि हाम्रो विवेक जगाउन सकेन भने, प्रश्न अपराधीमाथि मात्र होइन, हामी सबैमाथि उठ्नेछ । हामीभित्रको मानवता अझै जीवित छ कि छैन ?

















