

रामेछाप– देशका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सहिदहरूको स्मरण गर्दै रामेछाप जेसिजले दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । शुक्रबार साँझ मन्थलीको देवकोटा चोकमा आयोजित कार्यक्रममा विभिन्न कालखण्डमा सहिद भएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन गरिएको हो ।



कार्यक्रममा रामेछाप जेसिजका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल सहित विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूले मैनबत्ती बाल्दै सहिदहरूको बलिदानप्रति सम्मान प्रकट गरेका थिए ।
दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला सहकारी संघ रामेछापका अध्यक्षले देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गर्ने महत्वपूर्ण दिन भएको उल्लेख गर्दै सहिदहरूको त्यागकै कारण आज नेपाली जनताले लोकतन्त्र, स्वतन्त्रता र अधिकार उपभोग गर्न पाएको बताए । त्यस्तै रामेछाप जेसिज वर्ष २०२६ का अध्यक्ष कुमार श्रेष्ठले मैनबत्ती बाल्दै शब्दमार्फत सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । दिप प्रज्वलनसँगै सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।
नेपालमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । राणा शासनविरुद्ध संघर्ष गर्दै प्रजातन्त्र स्थापना गर्न जीवन बलिदान गर्ने सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायतका अमर सहिदहरूको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

















