
रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले कृषि मेला आयोजना गरिएको बताएका छन् । मन्थली नगरपालिका क्षेत्रभित्र उत्पादित तथा प्रशोधित कृषि, पशुपन्छी तथा उद्यमजन्य वस्तुहरूको नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ को शनिबार उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरभित्रका कृषकहरूले कसरी उत्पादन गरिरहेका छन्, ती उत्पादनलाई कसरी बजारीकरण गर्न सकिन्छ र त्यसलाई रोजगारी तथा आर्थिक समृद्धिसँग कसरी जोड्न सकिन्छ भन्ने लक्ष्यसहित मेला आयोजना गरिएको बताएका हुन् ।




नगर प्रमुख श्रेष्ठले मन्थली नगरपालिकाको समग्र भूभाग २११.७७ वर्ग किलोमिटर रहेको जानकारी दिँदै यसमध्ये ७ हजार ३३६ हेक्टर जमिन कृषि क्षेत्रअन्तर्गत रहेको बताए । उनले तीमध्ये १ हजार ३५६ हेक्टर जमिनमा मात्र सिचाइ सुविधा पुगेको र ४ हजार ५१३ हेक्टर जमिन सिचाइ सुविधाबाट वञ्चित रहेको बताए । उपलब्ध कृषि जमिन र स्रोतसाधनलाई सही ढंगले उपयोग गर्न सके नगरपालिकाको आर्थिक संरचना बलियो बन्ने उनले बताए । उनले यिनै तथ्यांक र अवस्थालाई आधार मानेर नगरपालिकाले कृषि पर्यटनलाई विकासको माध्यम बनाउँदै स्वरोजगार सिर्जनामा जोड दिएको बताए । “हाम्रो उद्देश्य कृषि उत्पादन देखाउने मात्रै होइन, यसलाई बजारसम्म कसरी पु¥याउने, रोजगारीसँग कसरी जोड्ने र आर्थिक समृद्धिको आधार कसरी बनाउने भन्ने हो,” उनले भने ।
नगर प्रमुख श्रेष्ठले मेलामा मन्थली नगरपालिकाभित्रका कृषक तथा पशुपालकहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शन गरिएको उल्लेख गर्दै यसलाई अवलोकनका लागि मात्र नभई प्रत्यक्ष बजारीकरणको माध्यमका रूपमा विकास गर्न खोजिएको बताए । उनले नगरभित्र मात्र नभई जिल्लाभरिबाट समेत उत्पादन अवलोकन गरी आगामी दिनमा कृषि क्षेत्रलाई आम्दानी र रोजगारीको बलियो आधार बनाउन सकिने बताए ।
कार्यक्रममा सहभागी अतिथि, सरोकारवाला तथा उपभोक्तालाई स्थानीय कृषकले उत्पादन गरेका वस्तुहरूको अवलोकन गर्न, खरिद गर्न र बजारीकरणमा सहयोग गर्न नगर प्रमुख श्रेष्ठले आग्रह गरे । उनले नगरपालिकालाई प्राप्त हुने सल्लाह र सुझाव आगामी नीति तथा कार्यक्रम निर्माणमा उपयोग गरिने बताए ।
मन्थली नगरपालिकामा रहेका उत्पादन, सिचाइ र बजारीकरणसम्बन्धी विषय उठेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले कृषकको हितमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र सरोकारवाला सबैको साझा जिम्मेवारी कृषकको भलो र नगरको समृद्धि भएको बताए । “बोलेर मात्र हुँदैन, व्यवहारमा उतार्नुपर्छ भन्ने कुरा हामी सबैले हेक्का राख्नुपर्छ,” उनले भने ।
चिस्यान केन्द्रको विषयमा बोल्दै नगर प्रमुख श्रेष्ठले यस वर्षबाट चिस्यान केन्द्र सञ्चालनमा आउने अपेक्षा गरिएको बताए । उनले निर्माण सम्पन्न भएपछि प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्ने र नगरपालिकाले स्पष्ट कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । उक्त चिस्यान केन्द्र मन्थली नगरपालिकाका उत्पादन मात्र नभई जिल्लाभरिका कृषि उपज संकलन र भण्डारणका लागि निर्माण गरिएको उनले बताए ।
मन्थली नगरपालिकामा दलहन बालीसँगै जुनार, सुन्तला, आलु, किवी, पिँडालु, तरुल, लसुन, बेसार, अदुवा, ड्रागन फ्रुट, एभोकाडो, हलुवाबेदलगायतका विभिन्न कृषि उपज उत्पादन हुँदै आएको नगर प्रमुखको भनाई रहेको छ । हाल सुन्तला करिब १०० रुपैयाँ किलो र जुनार ५० देखि ८० रुपैयाँ किलोमा बिक्री गर्नुपरेको अवस्था उल्लेख गर्दै चिस्यान केन्द्र र भण्डारण सुविधा विस्तार भए बेसिजनमा २०० देखि २५० रुपैयाँसम्म मूल्य पाउन सकिने बताए ।
कार्यक्रममा मल अभावको विषय उठाउँदै नगर प्रमुख श्रेष्ठले युरिया मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान समस्यामा परेको बताए । उनले मल संघबाट प्रदेश हुँदै स्थानीय तहमा आउने संरचनाका कारण किसानले समयमा मल नपाउने अवस्था रहेको बताए । उनले सो विषयमा प्रदेश सरकार र मन्त्रीसमक्ष पर्याप्त मात्रामा मल उपलब्ध गराउन आग्रह गरे ।
उनले कृषकले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि स्पष्ट नीति आवश्यक रहेको भन्दै वडा–वडामा साना कोल्ड स्टोर विकास गर्न सके स्थानीय उत्पादन संरक्षण र बिक्री वितरण सहज हुने बताए । यसले कृषकलाई तत्काल बजारको दबाबबाट जोगाउने र मूल्य पर्खेर बिक्री गर्ने अवस्था सिर्जना हुने उनले बताए ।
नगर प्रमुख श्रेष्ठले नगरको निमन्त्रणामा मन्त्री, विशेष अतिथि तथा सरोकारवाला सहभागी भएकोमा धन्यवाद व्यक्त गर्दै मेलालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । उनले शनिबार र आइतबार (पौष २६ र २ं७ गते) प्रदर्शनी सञ्चालन हुने र सोमबार बाँकी रहेका वस्तुहरू बिक्री वितरण गरी स्टलमा सहभागी कृषकलाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने बताए ।

















