

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा ल्याएको हो । उक्त गीतको म्यूजिक भिडियोमा गायक रेग्मी र चर्चित अभिनेत्री प्रेंका कार्की रहेका छन् ।



‘म सास बन्न पाए तिम्रो मुटु सम्म पुग्थे’ बोलको गीतको अपार सफलता पछि गायक रेग्मीले हरेक वर्ष नयाँ गीत बजारमा ल्याउने गरेका छन् । वामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा मौसम हिमालले निर्देशन गरेका छन् । म्युजिक भिडियोकी नायिका प्रेंका कार्कीले अहिले सम्म गरेका गीतहरुभन्दा फरक रहेको र निकै मेहनत गरेकोले गीत एकदमै राम्रो बनेको बताएकी छिन् । सोही गीतका गायक तथा मोडेल नरेश रेग्मीले नयाँ जेनजी पुस्ताको मन मुटुमा बस्न सक्ने खालको फरक ढंगको गीत बनेको बताए ।

उक्त गीतले नयाँ युवा पुस्ताको प्रेम कहानी संग मेल खाने खालको भएकोले युवा पुस्ताको मन मुटुमा बस्न सफल हुने अपेक्षा गरेका छन् । सानै उमेर देखि गीत संगीतमा रुचि राख्दै आएका गायक रेग्मी दुई दशक देखि सांगीतिक यात्रामा छन् । उनले दर्जनौ गीतमा स्वर तथा म्युजिक भिडियोमा अभिनय गरीसकेका छन् । दाङमा जन्मिएर गीत संगीतको यात्रामा लागेका रेग्मी हाल अष्ट्रेलियामा बस्दै आएका छन् । विदेशमा बस्ने गरेपनि रेग्मीले हरेक वर्ष जसो मातृभूमि समर्पित र युवा पुस्तालाई समेट्ने गरी गीत बजारमा ल्याउँदै आएका छन् ।
भर्खरै बजारमा आएको तिम्रै हु म को युट्युव लिंक तल रहेको छ

















