

रामेछाप– रामेछाप–काण्डमाण्डौँ तथा काठमाण्डौँ–रामेछापमा अब नियमित हवाई यात्रा गर्न पाइने भएको छ । बिहिवार शान्तिदीप युवा क्लव रामेछापका प्रतिनिधि र हाल रामेछाप विमान स्थलबाट उडान भर्दै आएका वायुसेवा कम्पनीहरु तारा एयर, सीता एयर र समिट एयरका रामेछाप प्रतिनिधिहरुबिच भएको छलफलबाट प्रत्येक हप्ताको शुक्रवार नियमित उडान गर्ने सहमति भएपछि अब हवाई यात्रा गर्न पाइने भएको हो ।



हप्ताको प्रत्येक शुक्रवार तीन वटै एयरलाइन्सका जहाँजहरुले पालो लगाएर उडान गर्ने गरी सहमति भएको शान्तिदीप युवा क्लवका अध्यक्ष सुरेश उदाशले बताए । सहमतिअनुसार यही कार्तिक महिलाको १४ गते शुक्रवार सीता एयर, २१ गते शुक्रवार तारा एयर र २८ गते शुक्रवार समिट एयरले रामेछाप–काठमडौँ, काठमाडौँ–रामेछाप उडान गर्ने छन् । उक्त तालिका प्रत्येक महिनाको शुक्रवार लागू हुनेगरी सहमति भएको क्लवका अध्यक्ष उदाशले जानकारी दिए ।
यसअघि चाडपर्वलाई लक्षित गरी रामेछाप विमानस्थलबाट रामेछाप–काठमाडौँका लागि तीन वटा हवाई कम्पनीहरु प्रत्येकले हप्ताको एक/एक उडान गर्दै आएकोमा चाडपर्व सकिएको र विपी राजमार्गको सडक यात्रा पनि केही सहज भएपछि रामेछाप–काठमाडौँ हवाई मार्गबाट आवतजावत गर्ने यात्रुसमेत केही कमी भएकोले अब प्रत्येक हप्ताको शुक्रवार मात्र उडान गर्ने सहमति भएको उदाशले बताए ।

















