

रामेछाप- रामेछाप जिल्लाको प्रमुख व्यापारिक केन्द्र मन्थली बजारमा अनुगमनको क्रममा खाद्यान्न तथा किराना पसलहरूबाट म्याद गुज्रिएका अखाद्य वस्तुहरू फेला परेका छन् । मन्थली नगरपालिकाको नेतृत्वमा तीन दिन सम्म गरिएको बजार अनुगमनमा ८० वटा पसलहरू निरीक्षण गर्दा ११ वटा पसलमा म्याद गुज्रिएका वस्तुहरू बिक्री स्थलमै राखिएको अवस्थामा भेटिएको हो ।



म्याद गुज्रिएका सामाग्रीहरू टुबोर्ग बियर, विभिन्न कम्पनीका चाउचाउ, लिच्ची जुस, कुरमुरे, हजमुला, निम्बु जुसजस्ता सामग्रीहरू रहेको मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतले बताइन् । ती सबै सामाग्री जफत गरिएको उनले बताइन् । उनका अनुसार ४५ हजार ३ सय ४३ रुपैयाँ बराबरका सामग्री नष्ट गरिने गरी नियन्त्रणमा लिइएको छ । त्यस्तै अनुगमनको क्रममा १५ वटा होटल तथा पसल दर्ता बिना सञ्चालन गरिएको पाइएको छ । दर्ता नगरी सञ्चालन गरिएका ती व्यवसायलाई एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरिसकेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।
तीन दिनसम्म चलेको अनुगमनमा किराना पसल, खाद्यान्न पसल, कस्मेटिक पसल, मासु पसल, होटल, काठ उद्योग तथा सप्लायर्सहरू समेटिएका थिए । उपप्रमुख बस्नेतको नेतृत्वमा भएको उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघ र रामेछाप उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
नगरपालिकाले उपभोक्ताको स्वास्थ्य तथा उपभोग्य अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई नियमित बनाइने बताएको छ ।

















