

रामेछाप- हरेक वर्ष जून १४ तारिखका दिन मनाइने विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ । जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना, रामेछाप अस्पतालको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको समन्वयमा आयोजित कार्यक्रममा रक्तदानमा १४ जना व्यक्तिहरुले रगत दान गरेका छन् । कार्यक्रम रामेछाप अस्पताल परिसरमा आयोजना गरिएको थियो ।



रक्तदानको वैज्ञानिक महत्व, सामाजिक योगदान र नियमित रक्तदानको आवश्यकताबारे अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले रगतदान स्वास्थ्यका लागि हानिकारक नभई लाभदायक हुने उल्लेख गर्दै भने, “हरेक व्यक्तिले तीन–तीन महिनाको फरकमा रक्तदान गरेमा रगत अभावको कारण कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने अवस्था आउन सक्छ ।” उनले रक्तदानलाई ‘जीवन दान’ को रुपमा बुझ्न आग्रह गरे ।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी रामेछापका अध्यक्ष शिव कुमार कार्कीले रेडक्रसले लामो समयदेखि जिल्लामा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउँदै भने, “रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न स्थायी र नियमित रक्त संकलन प्रणालीको खाँचो छ । यसका लागि स्थानीय तह, युवा समूह र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक छ ।”
उनले स्थानीय सरकारहरूलाई प्रत्येक वडामा नियमित रक्तदान अभियान सञ्चालन गर्न समेत आग्रह गरे । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले विद्यमान स्वास्थ्य संरचनामा रगत संकलन र वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउन नीति र योजना आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा विगतमा धेरै पटक रक्तदान गरेका व्यक्ति तथा विभिन्न संघ–संस्थाहरुलाई सम्मान गरिनुका साथै प्रशंसा–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

















