
महिलाहरू विभिन्न अधिकारबाट बञ्चित, लैंगिक असमानताबाट पीडित तथा सशक्तीकरणको अभावका कारण धेरै समस्याहरू भोग्न बाध्य छन् । मुलुकमा संविधान बनेपछि महिलाहरूका लागि थप अधिकार, लैंगिक समानता, र सशक्तीकरणका व्यवस्थाहरू थपिए । स्थानीय तहमा महिला जनप्रतिनिधिको सुनिश्चितता भएपछि धेरै महिलाहरू नेतृत्वदायी भूमिकामा क्रियाशील छन् ।
महिला अधिकार, लैंगिक समानता र सशक्तीकरणको सन्दर्भमा महिलाहरूको वर्तमान अवस्था कस्तो छ ? यसै विषयमा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर रामेछाप नगरपालिकाको उपप्रमुख बालकुमारी कार्की थापासँग हाम्रो प्रहार डटकमका प्रधान सम्पादक रामचन्द्र वि.क.ले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, उहाँसँग गरिएको सम्पादित संवाद ।




महिला अधिकार
तपाईंको नगरपालिकामा महिलाहरूको कानुनी अधिकार कार्यान्वयन गर्न मुख्य चुनौतीहरू के छन् ?
महिलाहरूको कानुनी अधिकार कार्यान्वयनमा मुख्य चुनौती पुस्तागत विचारको भिन्नता हो । समाजमा विभिन्न पुस्ताका मानिसहरू बस्ने भएकाले कानुनी अधिकारहरूको स्वीकार्यता फरक देखिन्छ । कानुनी जानकारीको कमी, परम्परागत सोच, र सामाजिक संरचनाले चुनौती थपेका छन् ।
हिंसाविरुद्धको कानुनी सुरक्षा प्रभावकारी छ कि छैन ? यदि छैन भने सुधारका लागि के उपाय अपनाउनु भएको छ ?
हालको कानुनी सुरक्षा प्रभावकारी छैन । हिंसाविरुद्धको कानुनी सुरक्षालाई थप प्रभावकारी बनाउन कडा कानुन निर्माण, पीडितलाई सुरक्षित पुनःस्थापना तथा सहयोग, र महिला स्वयम् निडर तथा जागरूक बन्ने वातावरण आवश्यक छ ।
महिलाहरूको राजनीतिक सहभागिता बढाउन नगरपालिकाले के विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ?
महिला अधिकार सशक्तीकरण, लैंगिक समानता र आर्थिक सहभागितालाई बढवा दिने कार्यक्रमहरू सञ्चालनमा छन् । महिलाहरूलाई नेतृत्व विकास तालिम, राजनीतिक सहभागितासम्बन्धी सचेतना कार्यक्रम र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
शिक्षामा पहुँचका हिसाबले तपाईंको क्षेत्रमा के अवस्था छ ?
शिक्षामा महिलाहरूको पहुँच सुधार भइरहेको छ । विशेष गरी आर्थिक रूपमा कमजोर तथा दलित महिलाहरूलाई समान अवसर दिन विभिन्न कार्यक्रम लागू गरिएका छन् ।
आर्थिक रूपमा कमजोर तथा दलित महिलाहरूका लागि के नीति अपनाइएको छ ?
दलित तथा आर्थिक रूपमा कमजोर महिलाहरूको लागि उद्यमशीलता तालिमका साथै आयआर्जनमा सहयोगी हुने नीति लागू गरिएको छ ।
रोजगारका अवसरमा महिलाको पहुँच सुनिश्चित गर्न तपाईंको नेतृत्वमा के कार्यहरू भएका छन् ?
लैंगिक समानताको नीति अवलम्बन गर्दै महिलाहरूलाई उद्यमशीलता र सीप विकासका तालिमहरू दिएर स्वरोजगार बन्न प्रेरित हुने विभिन्न जनचेतनामूलक कार्यहरू थालिएका छन् ।
लैंगिक समानता
नगरपालिकाले महिला र पुरुषबिचको आर्थिक, सामाजिक तथा राजनीतिक असमानता हटाउन के कार्यक्रमहरू ल्याएको छ ?
महिला सशक्तीकरण तालिम, उद्यमशीलता प्रवर्द्धन तथा नीति निर्माणमा महिलाको सहभागिता सुनिश्चित गर्ने कार्यक्रम सञ्चालन गरिएका छन् ।
महिलालाई निर्णय प्रक्रियामा सहभागी गराउनेतर्फ नगरपालिकाले के पहल गरिरहेको छ ?
महिलाहरूलाई नीति निर्माण तहमा लैजान तालिम, क्षमता अभिवृद्धि तथा उनीहरूको उपस्थिति सुनिश्चित गर्ने कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
महिला उद्यमशीलता प्रवर्द्धन गर्न स्थानीय सरकारको भूमिका कस्तो देख्नुभएको छ ?
संविधानले प्रत्याभूत गरेका अधिकार कार्यान्वयन गर्न उद्यमशीलता तालिम र बजार पहुँच सुधारका कार्यक्रम सञ्चालन गरिएका छन् ।
सार्वजनिक सेवा (स्वास्थ्य, शिक्षा, यातायात) मा महिलामैत्री वातावरण बनाउन के कदम चालिएको छ ?
महिला लक्षित स्वास्थ्य कार्यक्रम, सुरक्षित यातायात सेवा, निःशुल्क स्वास्थ्य जाँच तथा शिक्षा पहुँच विस्तार कार्यक्रम लागू गरिएका छन् ।
लैंगिक भेदभावविरुद्धको नीति तथा ऐनहरू कार्यान्वयनमा कत्तिको प्रभावकारी छन् ?
समाजमा विभिन्न धारणा रहेकाले नीति कार्यान्वयनमा चुनौती छ । यसलाई प्रभावकारी बनाउन व्यापक सचेतना, कानुनी परामर्श तथा कडाइका साथ ऐन लागू गरिनुपर्छ ।
महिला सशक्तीकरण
नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन के कस्ता सीपमूलक तालिम तथा अवसरहरू प्रदान गरिरहेको छ ?
महिलाहरूलाई विभिन्न उद्यमशीलता तथा सीप विकास तालिम जस्तै: दुनाटपरी निर्माण, स्वीटर बुन्ने, बेमौसमी तरकारी खेती, बाख्रा तथा कुखुरा पालन, मसला खेती, बाँसजन्य हस्तकला, च्याउ खेती आदि तालिम प्रदान गरिएका छन् ।
लैंगिक हिंसा पीडित महिलाहरूका लागि पुनर्स्थापना तथा मनोवैज्ञानिक परामर्श सेवा कत्तिको प्रभावकारी छन् ?
हाल यी सेवाहरू पर्याप्त प्रभावकारी छैनन् । आगामी दिनमा पुनःस्थापना केन्द्रको सशक्तीकरण, मनोवैज्ञानिक परामर्श सेवा विस्तार तथा पीडितलाई कानुनी सहयोग उपलब्ध गराउने योजनाहरू ल्याउने छौँ ।
स्वास्थ्य तथा मातृ–शिशु कल्याणका क्षेत्रमा महिला लक्षित कार्यक्रमहरू के–के छन् ?
निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी सहायता कार्यक्रम, पोषण कार्यक्रम, गर्भवती महिलालाई भिडियो एक्स-रे सुविधा र शिक्षक सुत्केरी हुँदा सट्टा शिक्षकको व्यवस्था जस्ता कार्यक्रम लागू गरिएका छन् ।
अन्त्यमा,
आगामी दिनमा महिला सशक्तीकरणका लागि तपाईंको प्राथमिकता के रहनेछ ?
महिलाहरूलाई सशक्त बनाउन, अधिकार सुनिश्चित गर्न, आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिनेछ । कानुनी सुरक्षा, रोजगार वृद्धि, र लैंगिक समानताको सुनिश्चितताका लागि नगरपालिकाले प्रभावकारी भूमिका खेल्नेछ ।
अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको सन्देश स्वरूप, तपाईं नगरका महिलाहरूप्रति के भन्न चाहनुहुन्छ ?
११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म सम्पूर्ण महिलाहरूलाई आग्रह गर्न चाहन्छु:
-आफूलाई सशक्त बनाउन निरन्तर प्रयास गर्नुहोस् ।
-सुरक्षित, जागरूक, र आत्मनिर्भर बन्नुहोस् ।
-आफ्नो अधिकारको रक्षा गर्न सचेत रहनुहोस् ।



आफ्नो प्रतिकृया दिनुहोस्