

रामेछाप- सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । सुनापति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रवार हाजिर भएका नेगीले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै विकास निर्माण र कानुन निर्माणका काममा जनप्रतिनिधिसँग सहकार्य, समन्वय र मार्गदर्शनका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाएक हुन् । गाउँपालिकामा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नेगीले स्थानीय तहको मुख्य जिम्मेवारी कानुन निर्माण, विकास निर्माण र सेवा प्रवाह रहेको उल्लेख गर्दै यी तीनै क्षेत्रमा परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।



स्थानीय तहलाई जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने सरकारका रूपमा स्थापित गर्न प्रभावकारी सेवा प्रवाहमा जोड दिँदै वडा तहसम्म रहेका स्वास्थ्य संस्था, कृषि सेवा केन्द्र तथा विभिन्न विषयगत शाखामार्फत नागरिकले पाउने सेवाको गुणस्तर सुधार गर्नु आफ्नो जिम्मेवारी महत्त्वपूर्ण हुने उनले बताए । स्थानीय तहको विकास निर्माणले नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै उनले साना सिँचाइ तथा खानेपानीका योजनादेखि सडक र भवन निर्माणसम्मका कामलाई महत्त्वका साथ अघि बढाउनुपर्ने बताए । त्यस्तै, स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकारको प्रयोग गर्दै आवश्यक कानुन निर्माण गर्ने जिम्मेवारी जनप्रतिनिधिको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा कर्मचारीतन्त्रको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृतले आफू स्थानीय तहको प्रशासनिक सेवामा २०७० सालदेखि कार्यरत रहेको बताउँदै सुनापति गाउँपालिका आफ्नो सातौँ स्थानीय तह भएको बताए । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट सरुवा भएर सुनापति आएका उनले सुनापतिको परिवेश आफ्ना लागि नयाँ भए पनि विगतका अनुभव र सिकाइलाई उपयोग गर्दै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जाँदा प्रशासनिक संरचना र कार्यशैलीमा समानता देखिए पनि प्रत्येक स्थानीय तहको परिवेश, आवश्यकता, मौलिकता र प्राथमिकता फरक हुने बताए । देशका ७५३ वटै स्थानीय तहका आफ्नै विशेषता रहेको उल्लेख गर्दै सुनापतिको अवस्था र आवश्यकताअनुसार काम गर्ने उनको भनाइ थियो ।
नयाँ जिम्मेवारीलाई नयाँ सिमकार्डसँग तुलना गर्दै उनले स्थानीय तहको परिवेश, जनप्रतिनिधि, कर्मचारी र नागरिकसँगको सम्बन्धलाई क्रमशः बुझ्दै काम अघि बढाउने बताए । जनप्रतिनिधिको मार्गदर्शन र अभिभावकत्वमा स्थानीय सरकारप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाल सरकार र प्रदेश सरकारप्रतिको जिम्मेवारीसमेत उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख तथा सम्पूर्ण कर्मचारीसँग सहकार्य गरेर अघि बढ्ने बताए । प्रशासन र जनप्रतिनिधिबीचको समन्वयबाट मात्रै स्थानीय तहका योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने उनको धारणा थियो ।
उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई स्थानीय सरकार सञ्चालनको आधारका रूपमा व्याख्या गर्दै यी मूल्यको कार्यान्वयनका लागि सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनलाई गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गिता विष्ट, जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वगत गर्दै आगामी कार्यकालको शुभकामना दिएका थिए ।

















