

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका छन् । जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नु जनप्रतिनिधिको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै उनले सुनापतिको धार्मिक, पर्यटकीय तथा समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् । शुक्रवार गाउँपालिकामा आयोजित प्रमुख प्रशासकीय अधिकृतको बिदाइ तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले घोषणापत्रमा उल्लेख गरिएका काममा मात्रै सीमित नभई सम्भव भएसम्म थप उपलब्धि हासिल गर्ने उद्देश्यका साथ आफूहरू अघि बढिरहेको बताए ।



“हामी पाँच वर्षका लागि जनताको मत माग्दै उनीहरूका बीचमा गएका हौँ । जनतासँग प्रतिबद्धता गरेका थियौँ । अझ घोषणापत्रमा लेखेकोभन्दा पनि बढी काम गर्नका लागि हामी जनप्रतिनिधि अघि बढिरहेका छौँ,” अध्यक्ष तामाङले भने ।
उनले सुनापति गाउँपालिकालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गर्दै जनप्रतिनिधिको कार्यकालमा परिकल्पना गरिएका योजनालाई पूरा गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताए । कार्यकालको अन्तिम चरणमा आइपुग्दा पनि विकास निर्माण र जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने काममा कुनै कमी हुन नहुने उनको भनाइ थियो ।
अध्यक्ष तामाङले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदैमा गाउँपालिकाको काम गर्ने गति रोकिन नहुनेमा जोड दिए । यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत सुरेश कुमार श्रेष्ठले अघि बढाएका कामलाई निरन्तरता दिँदै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले पनि गाउँपालिकाको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे ।
“अब पाँच–छ महिना मात्रै बाँकी छ । काम गर्ने समय दुई–तीन महिना मात्रै हो । तर हामी अझै पनि काम गर्ने गतिमै छौँ । सुनापति गाउँपालिकालाई धार्मिक र पर्यटकीय रूपमा माथि उठाउनुपर्छ र आफ्नो कार्यकालमा सोचेका काम पूरा गर्नुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ,” उनले भने ।
उनले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई बाँकी काम अघि बढाउन डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य गरेर अघि बढ्न आग्रह गरे । विभिन्न स्थानीय तहमा काम गरेको अनुभव रहेका नेगीले पनि गाउँपालिकाको विकास अभियानलाई गति दिने विश्वास अध्यक्ष तामाङले व्यक्त गरे ।
त्यसैगरी, बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीलाई प्राथमिकतामा राखेर अघि बढ्न उनले वडाध्यक्ष तथा कर्मचारीलाई आग्रह गरे । दसैँ–तिहारजस्ता चाडपर्वका कारण विकास निर्माण तथा निर्धारित कार्यक्रम प्रभावित हुन नदिन सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष तामाङले गाउँपालिकाको विकासमा जात, धर्म वा राजनीतिक आस्थाका आधारमा कुनै विभेद नहुने स्पष्ट पार्दै सबैको साझा उद्देश्य सुनापतिलाई समृद्ध बनाउनु रहेको बताए । जनप्रतिनिधि र कर्मचारीबीच आपसी समन्वय, सहकार्य र जिम्मेवारीबोध कायम रहेमा निर्धारित लक्ष्य हासिल गर्न सकिने उनको विश्वास छ ।
कार्यक्रममा बिदाइ भएर जाने प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ र सुनापतिमै कार्यरत प्राविधिक रितेश नाथको आगामी कार्यकालको सफलताको कामना गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत टङ्क नेगीलाई स्वागत गरिएको थियो । अध्यक्ष तामाङले कर्मचारी र जनप्रतिनिधि एकजुट भएर अघि बढेमा सुनापतिको विकासलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

















