
रामेछाप– सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको वडा नं ३ मा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आइतबार विहान भएको आगलागीबाट स्थानीय रुद्र बहादुर खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।




लिखुपिके गाउँपालिकाको कार्यालय नजिकै रहेको उक्त घरमा गाउँपालिका अन्तरगतका तीन ओटा शाखाको कार्यकक्ष रहेको र उक्त कार्यकक्ष समेत जलेर नष्ट भएको गाउँपालिकाका प्रवक्ता मनिराज बस्नेतले बताए । प्रवक्ता बस्नेतका अनुसार गाउँपालिका अन्तरगतका प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा, पूर्वाधार तथा नापी शाखा र स्टोर शाखाका कार्यकक्षहरू समेत जलेर नष्ट भएका छन् । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको भए पनि के कारणले आगलागी भयो भन्ने यकिन नभएको प्रवक्ता बस्नेतले बताए । प्रवक्ताका अनुसार घरमा लागेको आगो स्थानीयहरूको सहयोगमा हाल नियन्त्रणमा लिएको छ ।
आगलागी हुन साथ तीन ओटै शाखामा रहेका दराज निकालिएको भए पनि अन्य सामाग्री सबै जलेर नष्ट भएको गाउँपालिकाका सूचना अधिकारी ज्ञानु कार्कीले बताए । कार्कीका अनुसार उक्त घरमा गाउँपालिकाले भाडामा लिएर कार्यालय राखेको थियो ।



आफ्नो प्रतिकृया दिनुहोस्