
रामेछाप– सुनापति गाउँपालिकाले गाउँ केन्द्रित स्वास्थ्य कार्यक्रम मार्फत विवाहित महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण (भिआइए स्क्रिनिङ) गर्ने भएको छ । स्वास्थ्यकर्मीहरूको उपस्थितिमा गाउँमै गएर ३० वर्ष माथिका विवाहित महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गर्ने भएको हो । मुख्य मन्त्री जनता परीक्षणसँगै एकीकृत रूपमा गाउँ तहमा नै पुगेर ‘भिआइए’ प्रविधि मार्फत निःशुल्क रूपमा महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको परीक्षण गर्ने शिविर संचालन गर्न लागिएको सुनापति गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक माधव प्रधानले बताए ।



भिआइए प्रविधिको प्रयोग गरेर पाठेघरको मुखको परीक्षण गर्दा दश वर्ष पछाडि पाठेघरको मुखको क्यान्सर हुँदै भन्ने सम्मको थाहा हुने भएकाले पनि यो प्रविधि मार्फत गाउँमै पुगेर परीक्षण गर्ने शिविर संचालन गर्न लागिएको जनस्वास्थ्य निरीक्षक प्रधानको भनाइ रहेको छ ।
निःशुल्क रूपमा हुने परीक्षणबाट कुनै महिलालाई क्यान्सर भएको भेटिएमा स्वास्थ्य संस्थामा उपचार गर्न जानलाई परामर्श समेत प्रदान गरिने बताइएको छ ।
प्रधानका अनुसार फागुन १५ गते हिलेदेवी स्वास्थ्य चौकी, १८ गते गुन्सी भदौरे स्वास्थ्य चौकी र दिमीपोखरी स्वास्थ्य चौकीमा परीक्षण हुने छ भने १९ गते बेथान स्वास्थ्य चौकी र खनियाँपानी स्वास्थ्य चौकीमा परीक्षणको कार्यक्रम राखिएको छ ।



आफ्नो प्रतिकृया दिनुहोस्