रामेछाप- सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्ने शतलिङ्गेश्वर माध्यमिक विद्यालयलाई वडा कार्यालयले सम्मान गरेको छ । गएको सोमबार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण सहित ११ पदक आफ्नो पक्षमा पारेर प्रथम भएको शतलिङ्गेश्वर माध्यमिक विद्यालयलाई सुनापति गाउँपालिका वडा नम्बर १ गुन्सीले सम्मान गरेको हो । ९ ओटा मावि सहभागी प्रतियोगितामा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शिल्ड आफ्नो पक्षमा पारेर वडाको नाम उच्च बनाएको र भविष्यमा समेत यस्तै प्रदर्शन कायम होस भन्ने उद्देश्यले खेलाडीलाई हौसला प्रदान गर्न सम्मान गरिएको वडाध्यक्ष ध्रुव प्रसाद चौलागाईले बताए । खेलकै माध्यमबाट वडालाई चिनाउन सकिने र खेल क्षेत्रमा युवाहरूको राम्रो सम्भावना समेत रहेकाले खेलाडी सम्मानले विद्यार्थीलाई खेलमा लाग्न थप प्रेरणा मिल्ने वडाध्यक्ष चौलागाइको दाबी रहेको छ ।
वडा कार्यालयको सम्मानले विद्यार्थीहरू र विद्यालय परिवारमा हौसला, उत्साह र प्रेरणा मिलेको प्रअ कविन लामाले बताए ।
प्रतियोगितामा सहभागी खेलाडीलाई वडा कार्यालयले नगद सहित सम्मान गरेको गरेको थियो भने विद्यालयलाई रनिङ शिल्डको उपाधि जिताउन मुख्य भूमिकामा रहेका विद्यालयका प्रधानाध्यापक कविन लामा, खेल शिक्षकहरू मिथुन थापा मगर र प्रकाश विष्टलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित हुने विद्यार्थी तथा शिक्षकलाई वडाध्यक्ष ध्रुव प्रसाद चौलागाई, कार्यपालिका सदस्य रिता धमला, वडा सदस्य चन्द्र तितुङ र सदस्य डोल कुमारी तिमल्सिनाले सम्मान गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्