रामेछाप– न्युजिल्याण्डमा भएको दोस्रो आईटीएफ (तेक्वान्दो) अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेका रुपसिंह तामाङलाई रामेछापको सुनापति गाउँपालिकाले सम्मान गरेको छ । न्युजिल्यान्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन ४ देखि भएको प्रतियोगिताको भेट्रान्स स्पेसल टेक्निकमा स्वर्ण जितेका तामाङलाई गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित तामाङ खाँडादेवी गाउँपालिका वडा नं ७ का स्थानीय हुन् ।
त्यसै गरी गाउँपालिकाले सातौँ एसियन तेक्वान्दो (अन्तर्राष्ट्रिय) प्रतियोगितामा भाग लिएर पदक जित्ने सुनापति गाउँपालिकाका तीन खेलाडीहरूलाई पनि नगद पुरस्कार सहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा स्वर्ण पदक जित्ने सुनापति गाउँपालिका वडा नं २ की विनिता थापा मगर, रजत र कास्य पदक जित्ने वडा नं ३ का अनिल खड्का र साहिल दोङ रहेका छन् । तेक्वान्दो खेलाडी सँगै सुनापती गाउँपालिकाका तेक्वान्दो प्रशिक्षक समेत रहेका सपूत मोक्तानलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । सातौँ एसियन तेक्वान्दो (अन्तर्राष्ट्रिय) प्रतियोगितामामा नेपालकै तर्फबाट राम्रो कोच गरी सुनापति गाउँपालिकाको खेलाडीलाई स्वर्ण र कास्य पदक दिलाउन सफल भएको भन्दै गाउँपालिकाले उनलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।
सम्मानित हुने सबै खेलाडी र प्रशिक्षकलाई गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ र प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले सम्मान गरेका थिए ।
५० भन्दा बढी देशलाई पछि पार्दै स्वर्ण पदक जितेका तामाङलाई सम्मान गर्दै सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले दुर्गम गाउँको एउटा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेर देशलाई नै चिनाउने काम भएकोमा खुसी व्यक्त गरे । अध्यक्ष तामाङले रामेछापको खेलाडीले अन्तर्राष्ट्रिय स्तरको स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान गर्न पाउँदा आफूले नै खेल जितेको जस्तो महसुस भएको धारणा राखे । उनले तेक्वान्दो खेलबाट सुनापति गाउँपालिकालाई चिनाउने गरी तेक्वान्दो खेललाई अगाडि बढाउन गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले खेलाडी र खेल राष्ट्रकै सम्पत्ति भएकाले राष्ट्रको सम्पत्तिलाई संरक्षण गर्दै खेलकै माध्यमबाट देशलाई चिनाउन सक्ने गरी खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने भनाइ राखे । उनले तेक्वान्दो र अन्य विभिन्न खेलकुदको लागि गाउँपालिकाको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाए ।
न्युजिल्याण्डमा भएको दोस्रो आईटीएफ (तेक्वान्दो) अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेका रुपसिंह तामाङले गाउँपालिकाले आफू र अन्य विभिन्न खेलाडीलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै तेक्वान्दो खेललाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने धारणा राखे । उनले रामेछापका सबै स्थानीय तहहरूले तेक्वान्दो र अन्य खेललाई राम्रोसँग खेलाउन सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर दर्जनौँ पदकहरू दिलाउन सकिने दाबी गर्दै रामेछापका स्थानीय तहहरूले त्यता तर्फ ध्यान दिनु पर्नेमा जोड दिए ।
गाउँपालिकाकै हलमा भएको बधाई, सम्मान र पुरस्कार वितरण कार्यक्रममा सुनापति गाउँपालिकाका वडाध्यक्षहरू, खेल प्रशिक्षक, खेलाडी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्