

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार सम्पन्न सुनापति गाउँपालिकाको गाउँ सभाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको हो ।



गाउँपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राखेर कृषि, पशु सेवा, उद्यम विकास, सहकारी क्षेत्र, वैदेशिक रोजगार, पर्यटन जस्ता क्षेत्रलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ ।
सुनापति गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रम संचालन गरिने, कृषिमा आधुनिकीकरणलाई प्राथमिकता दिने, सेतो मकै, टिमुर र सिस्नुलाई प्याकेजिङ र ब्राण्डिङ गर्ने, गाँजा खेतीको लागि सम्भाव्यता अध्ययन तथा अनुसन्धान कार्य अगाडि बढाउने, बहुमूल्य बुद्धचित्तको खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन ‘एक सदस्य एक बुद्धचित्त, विद्यालय र समुदायको बगैँचा भित्र’ अभियान चलाउने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
गाउँपालिका उपाध्यक्ष गिता विष्ट चौलागाईले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक विकाससँगै सामाजिक विकास अन्तरगत शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, महिला तथा बालबालिका लगायतका क्षेत्रलाई समावेश गरी विभिन्न कार्यक्रमहरू गरिने उल्लेख छ । त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास क्षेत्र अन्तरगत एक टोल एक पोखरी निर्माण, पानीको स्रोत वृद्धि गर्न वन जंगल क्षेत्रमा पोखरी निर्माण, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश भएका छन् ।
सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कुनै टिप्पणी भए वा कुनै सुझाव भए सभाका सदस्यहरूलाई आफ्नो ठाउँबाट उठेर प्रस्तुत गर्न गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष ठुलोकान्छा तामाङले समय दिएका थिए । नीति तथा कार्यक्रमलाई पास गराउनको लागि सभाका अध्यक्ष ठुलोकान्छा तामाङले सभामा पेश गरेका थिए भने सभामा पेश भएको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पास भएको थियो ।
आगामी वर्षको लागि ५६ करोड ९० लाख ५२ हजारको बजेट
सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५६ करोड ९० लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयनको लागि विभिन्न क्षेत्रलाई समेटेर सोमबार सम्पन्न भएको गाउँ सभाले ५६ करोड ९० लाख ५२ हजार बराबरको बजेट ल्याएको हो । उपाध्यक्ष गिता विष्ट चौलागाईँले गाउँ सभामा प्रस्तुत गरेको बजेटमा आर्थिक विकास तर्फ ८५ लाख ३८ हजार ८ सय, सामाजिक विकास तर्फ २ करोड ४६ लाख २५ हजार, पूर्वाधार विकास तर्फ ७ करोड ४२ लाख ५० हजार, वन तथा वातावरण विपद् व्यवस्थापन तर्फ ४० लाख, संस्थागत विकास र सुशासन तर्फ ४१ लाख ३४ हजार विनियोजन भएको छ ।
त्यस्तै वडा तर्फ वडा नं १ लाई ४५ लाख ७५ हजार, वडा नं २ लाई ४२ लाख ८८ हजार, वडा नं ३ लाई ४२ लाख ९५ हजार वडा नं ४ लाई ४७ लाख ६४ हजार र वडा नं ५ लाई ४५ लाख ७८ हजार गरी कुल वडागत रूपमा योजनाहरू तर्फ २ करोड २५ लाख रकम विनियोजन भएको छ ।
यस्तो छ चालु आवमा भएका काम र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट



आफ्नो प्रतिकृया दिनुहोस्